नारायण सापकोटा, माडी । माडी नगरपालिकाको अयोध्याधाममा राम,सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्तिहरु स्थापना गरिने भएपछिे निर्माणका कार्यहरु तीब्र रुपमा अगाडि बढेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका राखिएका मूर्तिहरु आउँदो बैशाख  ८ गते  भव्य कार्यक्रमसहित अनावरण गर्ने कार्यतालिका सार्वजनिक भएपछि अवलोकन गर्न आउनेहरुको चहल पहल पनि बढेको छ । 

बैशाख  ८ गते भव्य कार्यक्रम गरेर मूर्तिहरु स्थापना गरिने भएपछि माडी राजनीतिक दलहरुको सर्वदलीय सहमति र सामाजिक संघ संस्थाहरुको समन्वयमा तयारीका कार्यहरु अगाडि बढिरहेको माडी नगर पालिकाका प्रवत्ता एवम् वडा नं ९ का अध्यक्ष शिवहरि सुवेदीले जानकारी दिनुभयो ।

कार्यक्रमलाई व्यवस्थित रुपमा सम्पन्न गर्नको लागि सहमतिबाट विभिन्न उपसमिति निर्माण गरिएको छ । निर्माण , प्रचार प्रसार, अतिथि सत्कार, मञ्च व्यवस्थापन, पूजा व्यवस्थापन, झाँकी व्यवस्थापन लगायत ११ वटा उपसमितिहरु मार्फत कामहरु भइरहेको अयोध्याधाम व्यवस्थापन समितिका अध्यक्ष तीर्थ भुसालले जानकारी दिनुभयो । 

अयोध्याधाममा निर्माणका कार्यहरु अगाडि बढेपछि नगद तथा जिन्सी सहयोगहरु आउन थालेका छन् । सहयोगलाइ व्यवस्थि गर्नको लागि गोल्बल आईएमई बैकमा अयोध्याधाम व्यबस्थापन समितिको नामबाट M३०१०१००००५०८ खाता सञ्चालन भएको अयोध्याधाम व्यवस्थापन प्रचार प्रसार उप समितिका संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो ।

बैशाख  ८ गतेको कार्यक्रमलाई व्यवस्थित रुपमा सम्पन्न गर्नको लागि माडीका विभिन्न सामाजिक संघसंस्थाहरुलाई कसरी समन्वयतात्मक रुपमा परिचालन गर्न भन्ने सम्बन्धमा विभिन्न छलफलहरु भएरहेका छन् । निर्माण कार्य तीब्र रुपमा अगाडि बढेपछि अवलोकन गर्न आउनेहरुको पनि चहल पहल बढेको छ । देशकै गौरवको विषय र समग्र माडी विकाससँग सम्बन्धित विषय भएको हुनाले अयोध्याधाम निर्माण कार्यमा सहयोग गर्न अयोध्याधाम व्यवस्थापन समितिका अध्यक्ष तीर्थ भुसालले सबैलाई आग्रह गर्नुभयो । 

माडी अयोध्याधाममा धार्मिक कृतन ७ गतेदेखि नै हुने र  ८ गते धार्मिक पुरोहितहरुको सहभागितामा र वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा मूर्तिहरु अनावरण गर्ने कार्यतालिका सर्वजनिक भएपछि शोभायात्राको लागि विभिन्न जात जातिका झाँकीहरु तयार गर्न काममा लागेका छन् भने युवाहरू पनि सक्रिय भएर निर्माण स्थलमा खटिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस !