काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सरकार लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् ।

पछिल्लो समय बढिरहेको कोभिड–१९ संक्रमण जोखिमका कारण पुनः लकडाउन हुनसक्ने आंकलन भइरहेका बेला मन्त्री त्रिपाठीले सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका हुन् ।

मंगलबार काठमाडौँमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा बोल्दै उनले अब नेपाल कहिलै लकडाउन नजाने बताए ।

लकडाउनले संक्रमण कम हुने भएपनि दीर्घकालीन रुपमा सामाजिक र आर्थिक जीवनलाई प्रभावित पार्ने भएकाले लकडाउन नगरिने उनको भनाइ थियो ।

उनले भने, ‘हामी यो चाहँदैनौँ कि नेपाल फेरि लकडाउनको अवस्थामा जाओस् । लकडाउनभन्दा अगाडि जति महत्त्वपूर्ण र प्रभावकारी कदमहरु छन् सरकार ती सबै कदमहरु चाल्न तयार छ र त्यसको तयारी गरिरहेको छ । किनभने लकडाउनले जनजीविकालाई पार्ने प्रभाव, समाजलाई पार्ने प्रभाव, अर्थतन्त्रलाई पार्ने प्रभाव, सामाजिक जीवनलाई पार्ने प्रभाव दीर्घकालिन रुपको हुने रहेछ ।’

छिमेकी मुलुक भारतमा नयाँ रुपको कोरोना फैलिएको भन्दै सरकारले लकडाउन अघि गर्नुपर्ने सम्पूर्ण कुराहरु गर्ने तर लकडाउनको मनस्थिति नबनाएको मन्त्री त्रिपाठीले बताए ।

उनले भने ‘हाम्रो छिमेकमा सबैतिर अलिअलि बढ्दो स्थिति भएको हुनाले हामी त्यसको लागि सतर्क छौँ । तर एउटा कुरा म यहाँहरुलाई विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु, आतंकित हुनुपर्ने अवस्था छैन । आतंकित हुनु भनेको यो संक्रमणलाई झन् थप्नु हो । सावधानी हुनुपर्छ, सतर्क हुनुपर्छ, सतर्कताका सबै उपायहरु अबलम्बन गर्नुपर्छ तर आतङ्कित गरेर जनतामा भय र त्रास गर्ने काम गर्नुहुँदैन ।’

विश्वमा ८१ प्रकृतिका कोरोना विरुद्धको खोप तयार भइसकेको र १३ वटा खोप प्रयोगमा आइसकेको र नेपालले पनि ३ वटा खोपलाई मान्यता दिइसकेको मन्त्री त्रिपाठीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस !