काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका(नास्ट)का कुलपति केपी शर्मा ओलीले वैज्ञानिकहरूलाई यथास्थितिमै सन्तोष गर्न छोडेर उल्लेखनीय फड्को मार्ने गरी आविष्कार र अनुसन्धानतर्फ लाग्न अपिल गर्नुभएको छ ।
नास्टको आज सम्पन्न ४४औँ प्राज्ञ सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले अब नयाँ उचाइबाट वर्तमान परिस्थिति र भविष्यको सम्भावनालाई समेत ध्यानमा राख्दै विज्ञान प्रविधिमा विकास गरिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीले अहिलेसम्म हाम्रो गति उत्साहहीन, सङ्कल्पहीन, गन्तव्य नतोकिएको र अठोट नगरिएको र जे छ त्यसैमा सन्तोष लिने खालको रहेको पनि बताउनुभयो । “सरकारमा रहनेलाई सरकारमा रहन पाए हुने भयो । पहिले सरकारमा कसरी पुग्ने र पुगेपछि कसरी टिक्ने नीति लिने मात्र काम जस्तो भयो”, उहाँको भनाई थियो ।

प्रधानमन्त्रीले करिब एक सय ११ वर्षअघि दक्षिण एसियामा पहिलो पटक जलविद्युत गृह बनाउने देश अहिले पछाडि परेको उदाहरण समेत दिनुभयो । उहाँले वैज्ञानिकहरूलाई आफू आविष्कारक पुर्खाको सन्तान भएको नबिर्सन पनि आग्रह गर्नुभयो । यसबाट प्रेरणा लिँदै देशलाई हर क्षेत्रबाट अघि बढाउन उहाँले आह्वान गर्नुभयो ।
सभालाई सम्बोधन गर्नुहुँदै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं नास्टका सहकुलपति कृष्णगोपाल श्रेष्ठले नास्टले आगामी दिनमा वैज्ञानिकहरूको वृत्ति विकासमा ध्यान दिने र देशमा वैज्ञानिक अनुसन्धानका लागि सहज वातावरण निर्माण गर्नेतर्फ अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै नास्टका उपकुलपति डा.सुनिलबाबु श्रेष्ठले समृद्धिका लागि नेपाली समाजको दैनिकीसँग जोडिएका प्रविधिको विकास र विस्तारमा नास्ट क्रियाशील रहेको बताउनुभयो ।
उहाँले यस पटक नेपालको पहिलो भू–उपग्रह नेपाली स्याट–१सँग सम्पर्क स्थापना गर्न प्रतिष्ठानमा नियन्त्रण केन्द्र स्थापना गरिएको जानकारी पनि दिनुभयो ।
उपकुलपति श्रेष्ठले निकट भविष्यमा भवन अनुसन्धान केन्द्र, अन्तरिक्ष अनुसन्धान केन्द्र तथा परम्परागत प्रविधि केन्द्र स्थापना गर्न गृहकार्य अघि बढाइएको जानकारी दिनुभयो ।
सभाले वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन गराउन र प्रतिभा प्रस्फुटन गराउन विभिन्न १२ विधामा स्थापना गरेका पुरस्कारहरूको समेत निर्णय गरेको छ ।

यस अनुसार डा.शेरबहादुर पुन, अनुपकुमार श्रेष्ठ, रेशमा तुलाधर, गोविन्दप्रसाद पोखरेल तथा नातिकाजी महर्जनलगायतका विज्ञान प्रविधि सम्बद्ध व्यक्तित्वहरूलाई पुरस्कृत गरिने छ ।
यसै गरी आगामी वर्षदेखि कृषिसम्बन्धी वैज्ञानिक कार्यका लागि समेत पुरस्कार दिइने निर्णय सभाले गरेको छ । (रेडियो नेपाल)

प्रतिक्रिया दिनुहोस !