काठमाडौँ । मेलम्ची पानीको औपचारिक उद्घाटन आज राष्ट्रपति भण्डारीले गर्नुहुँदै छ । काठमाण्डौको भृकुटीमण्डपमा बनाइएको धाराको टुटी खोलेर मेलम्चीको पानीको उद्घाटनको तयारी भएको आयोजनाका प्रमुख कमलराज श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार भृकुटीमण्डपमा बनाइएको धाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानीको उद्घाटन गर्नुहुनेछ । दिउँसो २ बजे राष्ट्रपति भण्डारीले मेलम्चीको पानी उद्घाटन गर्ने र सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट व्यक्ति सहभागी हुनुहुनेछ ।

काठमाण्डौमा आइतवारदेखि नै मेलम्चीको पानी वितरण सुरु गरिएको छ ।अहिलेसम्म काठमाण्डौको महाङ्काल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट पानी वितरण सुरु भएको छ । यसैबीच, काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण सुरु गरेको छ । बालाजु पोखरीमा हिजोदेखि पानी पठाउन थालिएकामा आज बिहान पाँच बजेदेखि वितरण थालिएको लिमिटेडले जनाएको छ । यस्तै आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका ठाउँमा पनि मेलम्चीको पानी वितरण हुने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस !