काठमाडौं, १३ चैत । मकवानपुर, चितवन र पर्साका जंगलमा डढेलो लाग्दा आज शुक्रबार चितवन, काठमाडौं सहित देशका विभिन्न जिल्लामा वायु प्रदुषण बढेको छ ।

प्रदुषण वढ्दा उपत्यकामा दिउँसै अँध्यारो छाएको छ भने आँखा पोल्ने तुँवालोले ढाकेको छ । मौसमविद्हरुका अनुसार मकवानपुर, चितवन र पर्साका जंगलमा डढेलो लाग्दा त्यसको प्रभावस्वरुप काठमाडौंमा प्रदुषणको  मात्रा बढेको हो ।

काठमाडौंमा मात्र नभइ देशका धेरै ठाउँमा बढेको प्रदुषणले मानिसको आँखा पोल्नाका साथै कतिपयलाई स्वासप्रश्वासमा समेत समस्या हुने वातावरणविद् भुषण तुलाधर बताउँछन् । उनका अनुसार प्रदुषणको स्रोत बढेको तथा हावाहुरी तथा पानी नपर्दा यस्तो समस्या देखिएको हो ।

प्रदुषणबाट जोगिन अनिवार्य रुपमा मास्क लगाउन मौसमविद्हरुले अपिल गरेका छन् । स्थानीय प्रदुषणलाई डढेलोले थप बल दिएकाले काठमाडौंमा आज एकाएक वातावरण विग्रिएको उनीहरुको भनाइ छ ।

जनस्वास्थ्यविद् समिरमणि दिक्षितले त ट्विट गर्दै लेखेका छन्, ‘सकेसम्म कम र परेको खण्डमा मास्क लगाएर मात्रै बाहिर निस्कौं । मर्निङ वाक केही दिनलाई रोकौं ।’

प्रतिक्रिया दिनुहोस !