काठमाडौं । सतारुढ दल नेकपा (एमाले)ले आज संसदीय दलको बैठक बोलाएको छ ।

आज बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाइएको दलका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भट्टराईले बताउनुभयो । एमाले संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दलको बैठक बालुवाटारमा बोलाउनुभएको उहाँले जानकारी दिनुभयो ।

समसायिक परिस्थितिबारे, संसद्लाई कसरी प्रभावकारी बनाउने भन्ने र पार्टीको समस्याहरूलाई कसरी निराकरण गर्ने भन्ने विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको भट्टराईले जानकारी दिनुभयो ।

‘पार्टीभित्र केही विषम् परिस्थिति उत्पन्न भएको छ । संसद्मा पनि त्यसको प्रभाव परेको छ । कसरी एक ढिक्का बनाउने भन्ने भन्ने विषयमा छलफल हुनेछ’ उहाँले भन्नुभयो ।

तर, संसदीय दलको बैठकमा माधव पक्ष भने नजाने भएको छ । ललितपुरको हेरिटेज गार्डेनमा जारी माधव पक्षीय कार्यकर्ता भेलामा नेता सुरेन्द्र पाण्डेले भोलि डाकिएको संसदीय बैठकमा सहभागी नहुने उद्घोष गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !