काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरू पार्टीमा मिलेरै अगाडि बढ्न चाहेको बताउनुभएको छ ।
नेकपा एमालेका असन्तुष्ट खनाल–नेपाल पक्षको आजदेखि ललितपुरमा सुरु भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्नुहुँदै नेता नेपालले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउँदै देशभक्ति भावनाको विकास गर्नुपर्ने उल्लेख गर्नुभयो ।
भेलालाई सम्बोधन गर्दै एमालेका अर्का वरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालतले एमाले ब्युँताइदिएपछि विधान र नवौँ महाधिवेशनको निर्णय अनुसार अगाडि बढ्नुपर्ने बताउनुभयो ।
भोलिसम्म चल्ने भेलामा केन्द्रीय कमिटी र केन्द्रिय निकायका सदस्य, सङ्घीय तथा प्रदेश सांसद, प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटीका पदाधिकारी, स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष, निर्वाचित जनप्रतिनिधि, पार्टी कमिटीका पदाधिकारी, जन वर्गीय सङ्गठनका केन्द्रीय सदस्य तथा केन्द्रिय विभागका सदस्यहरू सहभागी भएको सो समूहले दाबी गरेको छ ।

यसअघि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेला रोक्न आग्रह गर्दै नरोकिए पार्टी विधान, संविधान, राजनीतिक दलसम्बन्धी ऐनका आधारमा कारबाही गर्ने बताउनुभएको थियो ।
फागुन २८ गते नेकपा एमालेको केन्द्रिय कमिटीको विशेष बैठकले तात्कालिन नेकपा माओवादी केन्द्रसँग आबद्ध २३ जनालाई केन्द्रिय कमिटीमा मनोनीत गरेपछि एमालेमा थप विवाद चर्किएको हो । कल्पना दाहाल/रेडियो नेपाल 

प्रतिक्रिया दिनुहोस !