नवलपुर। राष्ट्रिय जनगणना २०७८ का लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । जिल्लामा तथ्याङ्क कार्यालय नभएकाले भाडाको घरमा कार्यालय स्थापना गरिएको हो ।

मङ्गलबार कावासोतीको थकालीचोकमा जिल्ला कार्यालयको स्थापनासँगै गणक र सुपरीक्षकका लागि हस्तलिखित दारखास्तसमेत आह्वान गरिएको छ । कार्यालय प्रमुख जीतेन्द्र रानाभाटकाअनुसार जिल्लामा ४६२ गणक र १०४ सुपरीवेक्षकको आवश्यकता पर्नेछ । दुवै पदका लागि चैत ५ देखि ११ गतेसम्म कार्यालयमा नै पुगेर हस्तलिखित निवेदनसहित दरखास्त फारम भरेर बुझाउन सकिने रानाभाटले जानकारी दिनुभयो ।

गणक र सुपरीवेक्षकका लागि राष्ट्रिय योजना आयोगअन्तर्गत केन्द्रीय तथ्याङ्क विभागको वेभसाइटमार्फत अनलाइन निवेदन दिन सकिने व्यवस्था छ । यद्यपि जिल्लाको सबै क्षेत्रमा इन्टरनेटको पहुँच नपुगेको भन्दै जिल्ला कार्यालयमा नै पुगेर फारम भर्न सकिने व्यवस्था गरिएको रानाभाटले जानकारी दिनुभयो ।

गणक र सुपरीवेक्षकका लागि स्थानीय, महिला, जनजाति, आदिवासी, दलित, अनुभवीलाई विशेष प्राथमिकता दिइएको रानाभाटले बताउनुभयो । राष्ट्रिय जनगणनाका लागि जिल्ला कार्यालय स्थापना गरिए पनि कार्यालयका लागि आवश्यक जनशक्ति भने पर्याप्त नभएको उहाँले बताउनुभयो ।

कार्यालयमा दुई जना कर्मचारीमात्रै कार्यरत भएको भन्दै उहाँले प्रमुख जिल्ला अधिकारीसँग काजमा कर्मचारी पठाउन आग्रह गरिएको बताउनुभयो । कर्मचारी पठाउने विषयमा प्रमुख जिल्ला अधिकारी सकारात्मक देखिए पनि सबै कार्यालयमा कर्मचारी अभाव हुँदा आवश्यकताअनुसार कर्मचारी पाउन मुस्किल भएको रानाभाटको भनाइ छ ।

विसं २०७८ वैशाख २६ देखि जेठ १४ सम्म २० दिनको अवधिमा सुपरीवेक्षकद्वारा घर तथा घरपरिवारको सूचीकरण गर्ने, २०७८ जेठ २५ देखि असार ८ सम्म १५ दिनको अवधिमा गणकहरुबाट मूल गणनाको काम हुने र असार ८ गते जनगणना दिवस मनाउने कार्यक्रम छ । एक सुपरीवेक्षकले २० दिनको अवधिमा एक हजार घरपरिवारको सूचीकरण तयार गर्नुपर्ने छ । त्यस्तै एक सुपरीवेक्षकको मातहतमा रहेर चार गणकले काम गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !