काठमाडौं ।  राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले आज शिष्टाचार भेटघाट गर्नुभएको छ । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा आज भएको भेटमा अध्यक्ष तिमिल्सिनाले कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्षसम्म दुई देशबीच सुमधुर र मैत्रीपूर्ण सम्बन्ध रहेको बताउनुभयो । उहाँले दुई देशले संयुक्त राष्ट्रसङ्घ जस्ता अन्तरराष्ट्रिय मञ्चमा साझा चासोका विषयमा निकट रहेर सहकार्य गरिरहेको बताउनुहुँदै दुई देशका संसद्बीचसमेत सुमधुर सम्बन्ध रहेको जानकारी गराउनुभयो ।

इजरायलले नेपाली नागरिकलाई रोजगारीको अवसर प्रदान गरेकामा धन्यवाद व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले विशेषगरी कृषि क्षेत्रमा प्रविधि भित्र्याउन तथा सीप विकासमा गरेको सहयोगका लागि आभार व्यक्त गर्नुभयो । “इजरायलको कृषि क्षेत्रमा काम गरेर तथा कृषिसम्बन्धी विभिन्न तालीम गरेर फर्किएका नेपालीले कृषिमा सफलता हासिल गरेका छन्”, उहाँले भन्नुभयो, “उनीहरुले सिकेको सीप र भित्र्याएको प्रविधि अन्य नेपाली कृषकले पनि प्रयोग गर्न पाउनु खुशीको कुरा हो । यसले हाम्रो कृषि क्षेत्रमा व्यावसायिकता र प्रविधिको प्रयोग बढाएको छ ।”

अध्यक्ष तिमिल्सिनाले दुई पक्षबीच सम्झौता भएर हाल रोकिएको ज्येष्ठ नागरिकको स्याहारसुसारमा नेपाली कामदार जाने प्रक्रिया छिटो शुरु गराउन राजदूतमार्फत इजरायल सरकारलाई अनुरोध गर्नुभयो । यसमा दूतावासले पछिल्लो समय चासो देखाएकोले छिटो नतिजा निस्कने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी उहाँले नेपालमा अहिले लगानीमैत्री वातावरण भएकाले इजरायली लगानीकर्तालाई जलविद्युत्, पर्यटन र कृषि, सूचना–प्रविधि, खानीलगायतका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

भेटका क्रममा इजरायलका राजदूत गोडेरले नेपालमा दोस्रो कार्यकालका लागि आउन पाउँदा खुशी व्यक्त गर्नुभयो । इजरायलमा वार्षिक ५०० नेपाली ११ महीने कृषि तालीम लागि जाने गरेको बताउँदै उहाँले अब छिट्टै ज्येष्ठ नागरिकको स्याहारका लागि नेपाली इजरायल जानेक्रम शुरु हुने जानकारी गराउनुभयो । “इजरायलमा विदेशी कामदारले पनि स्वदेशी बराबरको सेवासुविधा पाउने गरेका छन् । कामदारबीच कुनै विभेद छैन”, राजदूत गोडेरले भन्नुभयो, नेपाली कामदालाई पनि समान अवसर दिने कुरामा इजरायल प्रतिबद्ध छ ।”

नेपालमा पर्यटकका रुपमा घुम्न आउँदा इजरायली नागरिक महीनौँ बिताउने गरेको र कृषि तथा सूचना प्रविधिका क्षेत्रमा लगानी गर्न इच्छुक रहेको उहाँले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस !