रोल्पा । लुङ्ग्री गाउँपालिकाले संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्दै घरमा हुने प्रसूतिलाई शून्यमा झार्ने अभियान थालनी गरेको छ । घरमा हुने सुत्केरीले आमा तथा नवजात शिशुुका स्वास्थ्यमा सङ्क्रमण देखिएको जनाउँदै गाउँपालिकाले यसको अन्त्य गर्न सो अभियान शुरुआत गरेको हो । यसले मातृ तथा बाल मृत्युदरमा कमी ल्याउन समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

वडा नं १ पाङलाई घरमा हुने सुत्केरी शून्य वडा घोषणा गरिएकोे छ भने चालु आर्थिक वर्ष वडा नं ४ र ५ लाई पनि शून्य वडा घोषणाको तयारीमा गाउँपालिका लागेको छ । सातवटा वडा रहेको गाउँपालिकाले आगामी वर्षभित्र सबै वडालाई घरमा हुने शून्य प्रसूति वडा घोषणा गर्दैछ ।

स्वास्थ्यकर्मी, आमा समूह र महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर यसै वर्ष दुईवटा वडा पनि घरमा सुत्केरी शून्य वडा बनाउन लागेको गाउँपालिकाका स्वास्थ्य संयोजक लेपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । “समग्र गाउँपालिकामा संस्थागत सुत्केरीको अवस्था कस्तो छ भनेर घरधुरी सर्वेक्षण गरी केही वर्षभित्रै गाउँपालिकालाई नै घरमा हुने सुत्केरी शून्य वडा घोषणा गर्छांै”, उहाँले भन्नुभयो ।

संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न सुत्केरी र गर्भ जाँच गर्न स्वास्थ्य संस्था आउने गर्भवतीलाई नुन, तेल प्रदान गर्ने गरेको लुङ्ग्री–४ का वडाध्यक्ष शिवराम केसीले जानकारी दिनुभयो । अघिल्लो वर्षदेखि नै यस अभियान शुरुआत भए पनि यस वर्ष घरमा हुने सुत्केरी शून्य वडा घोषणा गर्ने गरी काम थालनी गरेका छौँ”, उहाँले भन्नुभयो ।

सेवा क्षेत्रभित्र अघिल्लो वर्षदेखि नै घरमा हुने सुत्केरीको सङ्ख्या शून्य रहेको वडाचौर स्वास्थ्य केन्द्रका प्रमुख कुमारी विष्टले जानकारी दिनुभयो । यस वर्ष सबै प्रक्रिया पूरा गरी घरमा हुने सुत्केरी शून्य वडा घोषणा गर्ने कार्यक्रम तय गरेका छौँ”, उहाँले भन्नुभयो ।

सुरक्षित प्रसूतिका लागि भन्दै सरकारले जिल्लामा ६३ बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छ । नागरिकको सुविधालाई दृष्टिगत गर्दै सकेसम्म कम दूरी रहने गरी स्थापना भएका बर्थिङ सेन्टरमा प्रसूति गराउने आमाको सङ्ख्या भने कम छ ।

अघिल्लो वर्ष गर्भवती भएकामध्ये झण्डै ६३ प्रतिशत गर्भवतीले मात्र बर्थिङ सेन्टरमा प्रसूति गराएका थिए । त्यस्ता बर्थिङ सेन्टरमा जाने गर्भवतीको सङ्ख्यामा क्रमिक सुधार हँुदै आए पनि अवस्था अझै सन्तोषजनक नरहेको स्थानीयवासी तुलसा आचार्यले भन्नुभयो ।

आर्थिक वर्ष ०६९÷७० मा संस्थागत सुत्केरी ३८ प्रतिशत मात्रै रहेको रोल्पामा आव ०७४÷७५ मा यो सङ्ख्या बढेर ५३।७ प्रतिशत पुगेको थियो । यसैगरी आव ०७५÷७६ मा यो सङ्ख्या ६०।८ प्रतिशत रहेकामा अघिल्लो आव यो सङ्ख्या ६२।९ प्रतिशत रहेको स्वास्थ्य कार्यालयको प्रतिवेदनमा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस !