काठमाडौं । पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसिरहेको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा पार्टीको नाम फेर्ने र मन्त्रीहरुमाथि कारबाहीगर्ने प्रस्ताव लगिएको छ ।

साथै पार्टी एकतासम्बन्धी एजेन्डा पनि बैठकमा पेश भएको छ । माओवादी केन्द्र पुनर्स्थापित भएपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकमा पार्टीको नाम फेर्ने प्रस्ताव राखिएको भए पनि त्यसको औचित्य पुष्टि माओवादी केन्द्रले गरेको छैन ।

यसैबीच केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने रामबहादुर थापा बादलसहितका नेताहरुलाई कारबाही समेत गर्ने भएको छ । केन्द्रीय कमिटी बैठकमा पार्टी अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्नेसम्बन्धी प्रस्ताव पेश भएको बताइएको छ ।

शनिबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका नेताहरुलाई कारवाही प्रक्रिया अगाडि बढाएको थियो । ओलीतिर लागेका नेता तथा मन्त्रीहरुलाई २४ घण्टे लिखित स्पष्टिकरण सोधेको थियो भने मन्त्रिपरिषबाट फिर्ता हुन निर्देशन दिएको थियो ।

तर, उनीहरुले केही जवाफ नफर्काएपछि आजको बैठकमा पार्टी अनुशासन उल्लंघन गर्नेलाई कारबाही प्रस्ताव राखिएको हो ।

प्रतिक्रिया दिनुहोस !