चितवन । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएसँगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रकै अवस्थामा पुगेको फैसला गरेपछि चितवनमा दिपावली गरिएको छ । कालिकाको क्लबचोकमा स्थानिय नेता तथा कार्यकर्ता हरुले दिपावली गरि खुशीयाली मनाएका थिए । कार्यक्रममा साबिक एमालेका नेता एवं हाल नेकपा कालिका अध्यक्ष केशव लामा लगायतको उपस्थिति रहेको थियो । त्यसैगरि  चितवनको एमाले पार्टी कार्यालय कृष्णपुरमा अनेरास्ववियू र युवासंघको आयोजनामा दिपावली गरिएको हो ।

दिपावली कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य हरी सापकोटाले मेहनत र पसिना बगाएर निर्माण गरेको पार्टी कार्यालय अव आफ्नै भएको बताए । उनले कार्यकर्ताको भावना अनुरुपको फैसला भएको भन्दै स्वागत गरे । दिपावली कार्यक्रममा सहभागी जिल्लाका नेता कार्यकर्ता उत्साहित देखिन्थे । उनिहरुले एक अर्कालाई बधाई समेत साटासाट गरेका थिए । सो अवसरमा नेता जेएन थपलिया,विजय सुवेदी, प्रकाश खनाल सैलेश लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा युवा विद्यार्थीले केपी ओलीको समर्थनमा नाराबाजी समेत गरेका थिए । सो खुसीयालीमा देशैभर दिपावली गरिएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले आज नेकपाको आधिकारिकता कट्टेललाई दिएको हो । यो फैसलासँगै अब केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि २०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी नामकरण गरिएको थियो । सो पार्टी निर्वाचन आयोगमा त्यसअघि नै दर्ता रहेको भन्दै कट्टेलले आयोगमा उजुरी दिएपछि केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले कोष्टमा (नेकपा) थपेको थियो ।

निर्वाचन आयोगले कट्टेलको मागविपरीत निर्णय गरेपछि उनी अदालत गएका थिए । २०७५ मंसिरमा अदालत पुगेका कट्टेलको मुद्दामाथि दुई वर्षपछि फैसला भएको छ ।

प्रतिक्रिया दिनुहोस !