नवलपुर । ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरको सिँढीमार्गको दायाँबायाँ रहेका ढुङ्गामा कलात्मक मूर्ति कुँदिएका छन् । तीन जना सहयोगीसहित १५ कलाकारको समूहले १५ दिन लगाएर सिँढीमार्गको दायाँबायाँ १६ वटा आकर्षक मूर्ति कुँदेका हुन् ।

धार्मिक सेवा समिति मौलाकालिका मन्दिर गैँडाकोट, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँ र गैँडाकोट नगरपालिकाको आयोजनामा ‘आस्था’ नाम दिएर श्रीपञ्चमीको दिनबाट कार्यशाला सञ्चालन गरिएको थियो । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोट नगरपालिका–१ मा पर्ने मौलाकालिका मन्दिरको सिँढीमार्गको दायाँबायाँ मूर्ति निर्माणपश्चात गैँडाकोट–१ का वडाध्यक्ष हरिप्रसाद सापकोटाले धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको स्थानमा मूर्तिले अझै सुन्दरता थपेको बताउनुभयो ।

मूर्ति निर्माणका लागि स्थानीय सरकारले चाहे जति सहयोग गर्न नसकेको उल्लेख गर्दै उहाँले आगामी दिनमा सहयोग गर्ने बताउनुभयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभागका प्रमुख लालकाजी लामाले पैदलमार्गमा निर्माण भएको मूर्तिका कारण मन्दिरको महत्व अझै बढ्ने बताउनुभयो ।

मूर्तिकलाले मौलाकालिका मन्दिरको धार्मिक, पौराणिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणबाट समेत महत्व बढेको लामाको भनाइ छ । मूर्ति निर्माण गरिनुमात्रै महत्वपूर्ण काम नभएकाले यसको संरक्षणमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । मौलाकाली सामुदायिक वनका अध्यक्ष काशीनाथ कँडेलले मन्दिरको सिँढीमार्गमा निर्माण गरिएका मूर्तिले इतिहास लेख्ने काम गरेको बताउनुभयो ।

कार्यशालाका संयोजक कलाकार भीम शर्माले कलाकारको मेहनत, ऊर्जा र सबैको सहयोगले मूर्ति निर्माण कार्यले पूर्णता पाएको बताउनुभयो । मन्दिरको सिँढीमार्गमा रहेका ढुङ्गामा कलाकारले धार्मिक र प्राकृतिक मूर्ति कुँदेका छन् । कलाकारले भगवान् शिव, गणेश, काली, वनदेवी, कछुवा, हात्ती, गुप्तेश्वर शिवलिङ्गलगायतका मूर्ति निर्माण गरेका हुन् । कलाकारको मेहनतले निर्माण गरिएका धार्मिक तथा प्राकृतिक मूर्तिले मन्दिरको धार्मिक तथा पर्यटकीय महत्व अझै बढेको धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस !