खोटाङ । जनसेवा समाज नेपाल जालपा खोटाङ र डिटुएन फाउण्डेसन अमेरिकाको साझेदारीमा जिल्लाका चार स्थानीय तहको पाँच स्थानमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्यशिविरमा विभिन्न प्रकारका दुई हजार २९४ जना बिरामीले आफ्नै गाउँमा निःशुल्क सेवा पाएका छन् । कोरोना महामारीपछिको लकडाउनले सहज उपचार गर्न नपाउँदा समस्या झेलिरहेका सर्वसाधारणलाई गाउँ–ठाउँमै स्वास्थ्य सेवा दिने लक्ष्यसाथ आयोजना गरिएको शिविरमा सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका बिरामी लाभान्वित भएका छन् ।

ऐसेलुखर्क, केपिलासगढी र रावाबेँसी गाउँपालिका तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिको दुई ठाउँमा विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । जनसेवा समाजद्धारा सञ्चालित कोरोना सहायता परियोजना र जनसेवा सामुदायिक अस्पतालको आयोजनामा गत फागुन ५ गते ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्कबाट शुरु गरिएको निःशुल्क स्वास्थ्य शिविर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पुगेर टुङ्गिएको छ ।

पाथेकामा आयोजना गरिएको शिविरमा ५८०, ऐसेलुखर्कमा ४७७, केपिलासगढी गाउँपालिकाको बाक्सिलामा ४५३, जालपामा ४०३ र रावाबेँसी गाउँपालिकाको हरमटारमा आयोजना गरिएको शिविरमा ३८१ सर्वसाधारणले स्वास्थ्य सेवा पाएका छन् । शिविरमा उपचार गरिएका कुल ४१३ दाँतका बिरामीमध्ये २३७ को दाँत उखालिएको, १९७ को सुगर तथा ८६ को पिसाब परीक्षण गरिएको जालपा सामुदायिक अस्पतालका प्रमुख डा। नेहा बजिमयले बताउनुभयो ।

यस्तै, २८७ जनालाई निःशुल्क चस्मा वितरण गरिएको, मोतियाबिन्दु भएका १२६ बिरामी पहिचान गरिएको, ३०९ महिलाको स्त्रीरोग परीक्षण गरिएको, ९३ जनाको पाठेघरको नमूना सङ्कलन गरी ल्याब परीक्षणका लागि काठमाडौँ पठाइएको, १२ जनाको रिङ प्रेसरी राखिएको, १७७ बालबालिकाको बालरोग सम्बन्धी जाँच गरिएको छ । शिविरमा पत्थरी, गर्भवती, तल्लोपेटको समस्या भएका ३१६ को भिडियो एक्स–रे गरिएको परियोजनाका कार्यक्रम संयोजक उमेत राईले बताउनुभयो ।

स्वास्थ्य सेवाका लागि घण्टौँ हिँडेर शिबिरमा आएका विरामीलाई ९ लाख रुपैयाँभन्दा बढीको औषधि निःशुल्क वितरण गरिएको छ । आँखाका समस्या भएका ज्येष्ठ नागरिक, विपन्न, महिला, दलितलाई भने सम्वन्धित स्थानीय तहले नै निःशुल्क चस्मा प्रदान गरेको थियो ।

६० वर्षभन्दा माथिका आँखाका बिरामीलाई चस्मा आवश्यक परेमा निःशुल्क उपलब्ध गराउने सम्बन्धित स्थानीय तहका प्रमुखले प्रतिवद्धता जनाएका छन् । कोरोना महामारीका कारण सहज उपचार गर्न नसकिरहेका बिरामी आफ्नै गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाउँदा हर्षित भएका छन् । २५ वर्षदेखि ४० वर्षसम्मका महिलाको पाठेघरको क्यान्सरको अवस्था थाहा पाउन सर्भाइकल टेस्ट, दाँत, आँखा, भिडियो एक्स–रे, सामान्य चेकजाँच, ज्येष्ठ नागरिक, अपङ्ग, महिला तथा बालबालिकाको स्वास्थ्य परीक्षण गर्ने लक्ष्यसाथ शिविरको आयोजना गरिएको जनाइएको छ । जनसेवा सामुदायिक अस्पतालमा विशेषज्ञसहितको स्वास्थ्य सेवा चौबीसै घण्टा उपलब्ध रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुव श्रेष्ठले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !