काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) का रिक्त सञ्चालक समिति सदस्यमा पत्रकार भगवान भण्डारी नियुक्त हुनुभएको छ । सूचना तथा सञ्चार प्रविधिमन्त्रीस्तरको यही फागुन १० गतेको निर्णयानुसार रासस ऐन, २०१९ को दफा ८ को उपदफा १ को खण्ड (ख) बमोजिम पाल्पा, बगनासकाली गाउँपालिका- ५, दर्लमडाँडा निवासी भण्डारी चार वर्षका लागि सदस्यमा मनोनयन हुनुभएको हो । भण्डारीले आइतबार मन्त्रालयमा पत्र बुझ्नुभएको छ ।

विसं २०५१ देखि पत्रकारितामा आबद्ध तथा हाल ‘पाल्पा समाचारपत्र’ साप्ताहिक र ‘पाल्पा समाचार डटकम’का प्रधानसम्पादक भण्डारी नेपाल पत्रकार महासङ्घ, पाल्पाका निवर्तमान अध्यक्ष र प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ । मानवअधिकार एलायन्सका जिल्ला अध्यक्ष तथा जिल्लास्तरीय मानव अधिकार सञ्जालका संयोजक भण्डारी विगतमा रेडियो नेपालका संवाददाता र रेडियो मदनपोखराका संस्थापक समाचार प्रमुख भइसक्नुभएको छ । पत्रकारिता क्षेत्रमा साढे दुई दशकदेखि संलग्न भण्डारी ‘जनसेवा श्री’ (पाँचौँ) पदकबाट सम्मानित हुनाका साथै नेपाल प्रेस इन्स्टिच्युटलगायत विभिन्न संस्थाबाट तालीमप्राप्त हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !