शिशिर सिंखडा, चितवन । पर्यटकीय क्षेत्रको रुपमा प्रशस्त सम्भावना बोकेको उदयपुर सामुदायिक वन आन्तरिक पर्यटकको रोजाइएमा पर्न सफल भएको छ । पार्क सञ्चालनमा आएसंगै सामुदायिक वनको स्वरुप नै फेरिएको छ ।
हेर्नुहोस भिडियो-
पूर्वि चितवनको कालिका नगरपालिका वडा नं ७ सगुनटोलमा रहेको उदयपुर सामुदायिक वन उपभोक्ता समूहले सो “उदयपुर पार्क” सञ्चालनमा ल्याएको हो । वन संरक्षण र विकासका कार्यक्रमका साथ साथै आन्तरीक पर्यटकको रोजाईमा पार्क रहेको सामुदायिक वनका अध्यक्ष केशव लामा बताउनु हुन्छ । सवै ठाउंको अध्ययन पश्चात केहि फरक गर्ने उद्धेश्यले पार्क निर्माण गरिएको उहाँको भनाई छ ।
सामुदायिक वनले मुख्य आम्दानीको रुपमा काठ, दाउरा बिक्री बितरण गर्दै आएको थियो । वनमा खेर गएको ठाँउलाई सुन्दर रमणीय बनाउने र वनको आम्दानी पनि बढाउने उदेश्यका साथ सो फनपार्क निर्माण गरिएको वनका अध्यक्ष लामा बताउनु हुन्छ । करीब ३० विगाहा क्षेत्रफलमा फैलिएको यस पार्क भित्र मुख्य आकर्षणको रुपमा पिकनिक स्पोट, फनपार्क, युथपार्क, गार्डेन, र मिनि जु समावेश गरीएको छ । यस पार्कको मुख्य विशेषताको रुपमा खुल्ला चौरमा समेत घुम्ने व्यवस्था रहेको छ । भ्यू टावर मार्फत जंगल र जंगली जनावरको द्दश्यावलोकन गर्न सकिने हुदाँ पर्यटकको रोजाईमा पार्क रहेको वनका उपाध्यक्ष सुर्दशन अधिकारी बताउनु हुन्छ ।
चितवनकै नमुना पार्कको रुपमा बिकास गर्ने योजनाका साथ सामुदायिक वनले काम गरीरहेको उहाँको भनाई छ । सामुदायीक वनको करिब दुई करोड रुपैया खर्चमा निर्माण भैरहेको यस पार्क भित्र मिनी रेल र डुंगा सहितको पोखरी वनाउने योजना समेत रहेको उहाँको भनाई छ । विभिन्न निकायमा पैसाको माग भईरहेको र पैसा आउने निश्चित भएसंगै योजनाले गति लिने सामुदायिक वनका उपाध्यक्ष अधिकारी बताउनु हुन्छ ।
वनको संरक्षण संगसंगै आम्दानीको स्रोत पनि बढाउने उदेश्यले नमुना पार्कको निर्माण गरिएको उहाँले बताउनु भयो । बढ्दो शहरीकरण संगै बालबालिका, महिला, वृद्ध, युुवा सबैको रोजाईमा घुम्ने र मनोरञ्जन लिने स्थानको रुपमा पार्कलाई बिकास गरिएको उपाध्यक्ष अधिकारी बताउनु हुन्छ । गर्मिमा रुखको छहारीमा खेल्दै चिसो हावा लिन मिल्ने र जाडोमा चौरमा बसेर घामको आनन्द लिन मिल्ने व्यवस्था रहेको छ । पार्क घुम्न आउनु भएका स्थानिय हरिप्रसाद भण्डारी आफ्नै गाँउ ठाँउमा पार्क बनेपछी ज्यादै खुसी लागेको बताउनु हुन्छ ।
सञ्चालन भएको केही समयमा नै कोरोनाको प्रभाव यस फन पार्कका पनि परेको छ । पार्क संचालनको सङसङै निर्माण कार्यहरु भैरहेका छन् । सञ्चालन संगै निर्माण गर्दै जाने सोचका साथ निर्माण कार्य भैरहेको अध्यक्ष लामाले बताउनु भयो । चितवन, नवलपरासी, मकवानपुर जिल्लाबाट पिकनिक र अवलोकनका लागि सर्वसाधरण आउने गरेका छन् ।
पिकनिक खानाका लागि सुविधा सम्पन्न टहरा, शौचालय, र पानीको व्यवस्था रहेको छ । त्यसैगरी बालबालिकाको लागि खेल्ने बाल उद्यानहरु पार्कमा रहेका छन् । खेल्दै र नाच्दै खाना पाईने भएका कारण पनि यस फन पार्कमा पिकनिक खाना आउनेको भिड लाग्ने गरेको छ ।
हेर्नुहोस भिडियो-