गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय पुनःजागरणमा रेडियो नेपालको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । रेडियो नेपालको तालीम शाखाले आज आयोजना गरेको ‘समावेशी कार्यक्रम र समाचारका विषय छनोट र समूदायको सहभागिता’ विषयक अन्तरक्रिया तथा तालीमको उद्घाटन गर्दै उहाँले आम नेपालीको सञ्चार माध्यमका रुपमा यसको विकास आवश्यक रहेको बताउनुभयो । रेडियो नेपाललाई कसरी समावेशी बनाउन सकिन्छ भन्नेतर्फ सोच्नु अपरिहार्य भएको बताउँदै मुख्यमन्त्री गुरुङले समय सापेक्ष रुपमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले समावेशी लोकतन्त्रलाई व्यहारमा कार्यान्वयन गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान आवश्यकताअनुसार रेडियो नेपालले सबै जातजाति, भाषाभाषीलाई सम्बोधन गर्न सक्नुपर्ने बताउनुभयो । नवीनतम प्रविधिको उपयोगमार्फत रेडियो सेवालाई समय सापेक्ष प्रभावकारी बनाउनुपर्नेमा उहाँको जोड थियो ।

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले सबै किसिमले रेडियो नेपाललाई समावेशी बनाउने ढङ्गबाट अघि बढिएको बताउनुभयो । आधुनिक युगअनुसार रेडियो नेपाललाई विकास विकास गर्न लागिएको बताउँदै उहाँले रेडियो र नेपाल टेलिभिजनलाई एउटै छातामुनी लैजाने प्रयास भैरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा रेडियो नेपालका तालीम प्रमुख एवं मुख्य सम्पादक जनार्दन विष्ट, रेडियो नेपाल प्रादेशिक प्रशारण कार्यालय पोखराका प्रमुख सुरेन्द्रप्रसाद यादव, कार्यक्रम अधिकृत हरि गिरीलगायतले रेडियो नेपालको अवस्थाबारे जानकारी दिनुभयो ।

अन्तरक्रिया एवं तालीमका क्रममा समावेशी कार्यक्रम र समाचारका विषयवस्तु छनोट र समुदायको सहभागिता विषयअन्तर्गत गुरुङ भाषाका सम्बन्धमा भाषाविज्ञ अधिवक्ता जुनाकुमारी गुरुङ र मगर भाषाका सम्बन्धमा भाषाविज्ञ सह प्रा लोकबहादुर थापाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !