काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको अन्तिम टुंगो नलाग्दासम्म कुनै पक्षसँग सहकार्य नगर्ने भएको छ । यो सँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपालले नेतृत्व गरेको समूहले प्रधानमन्त्री केपी ओलीलाई हटाउने, आफु प्रधानमन्त्री बन्ने, राष्ट्रपति बन्ने लगायतका सपनाहरु चकनाचुर भएका छन् । निर्वाचन आयोगले समेत उक्त समूहको कुनै पनि निर्णयलाई आधिकारीकता दिएको छैन । आयोग आयोगले अध्यक्ष ओली र प्रचण्डको हस्ताक्षरीत तथा महासचिव विष्णु पौडेलले बोलाएको बैठक तथा निर्णयलाई मात्र मान्न सकिने बताएको छ ।

बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा संसद पुनर्स्थापना भएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे समीक्षा भएको थियो । बैठकमा सभापति देउवाले नेकपाको दुबै पक्षबाट सहकार्यको प्रस्ताव आएको भन्दै राय माग्नुभएको थियो ।

‘नेकपाको विवाद अन्तिम टुंगो नलागेसम्म कांग्रेस कसैको पक्ष वा विपक्षमा उभिन सक्दैनौं भन्ने हाम्रो निष्कर्ष रह्यो’ बैठकपछि नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो । जनताले पनि प्रतिपक्षमा बस्ने म्याण्डेट दिएको भन्दै नेताहरुले सरकारमा जान हतार गर्न नहुने बताएका छन् । नेकपा विभाजन भएर सरकार बन्नै नसक्ने अवस्था आए मात्र यसबारे पार्टीमा छलफल गर्नु उपयुक्त हुने नेताहरुले राय दिएका छन् ।

प्रतिक्रिया दिनुहोस !