नवलपुर ।गण्डकी प्रदेशको मुटु नवलपरासी,  बर्दघाट–सुस्तापूर्व नवलपुर । नवलपुर जिल्लाको धार्मिक केन्द्र गैँडाकोट नगरपालिका । जहाँ हिन्दू धर्मसँग सम्बन्धित विभिन्न धार्मिकस्थल छन् । गैँडाकोटको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर आस्था र धरोहरका रूपमा रहेको छ । गैँडाकोट–१ मा पर्ने मौलाकालिका मन्दिरको पूर्वमा पवित्र तीर्थस्थल देवघाटधाम, उत्तरमा कालीगण्डकी नदी तथा दक्षिणमा नारायणी नदी छन् । पन्ध्रौँ शताब्दीको अन्त्यतिर सेन राजाको पालामा स्थापना गरिएको मौलाकालिका मन्दिर धार्मिक पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिन्छ ।

नारायणगढबाट चार किलोमिटरको यात्रापछि पुगिने मौलाकालिका मन्दिरमा दुई किलोमिटर बाटो भने पैदलै उकालो चढ्नुपर्छ । धार्मिक वन क्षेत्रको दुई किलोमिटर उकालो चढ्नका लागि सिँढी निर्माण गरिएका छन् । सिँढीमार्गको दायाँबायाँ छरिएर रहेका ठूला ढुङ्गा देख्न सकिन्छ । मौलाकालिका फेदीबाट एक हजार ८८२ वटा सिँढी उक्लिएपछि मौलाकालिका माताको दर्शन गर्न सकिन्छ । यही सिँढीमार्गको दायाँबायाँ रहेका ठूला ढुङ्गालाई जीवन्त बनाउनका लागि अहिले मूर्तिकारहरू लागिपरेका छन् ।

मौलाकालिका माताको दर्शनका लागि फेदीबाट उक्लिएको करिब पाँच मिनेटको पैदल यात्रापछि शुरु हुन्छन् ढुङ्गामा कोरिएका कलात्मक मूर्तिहरु । गणेश मन्दिर कट्नेबित्तिकै करिब एक किलोमिटरसम्म पैदलमार्गको दायाँबायाँ ढुङ्गामा मूर्तिहरु कुँदिएका छन् । धार्मिक वन क्षेत्रमा मूर्ति कुँद्नका लागि १२ मूर्तिकार र तीन सहयोगी मूर्तिकार गरी १५ जनाको समूह खटिएको छ । उनीहरुले धार्मिक तथा प्राकृतिक स्वरुप झल्किने मूर्ति कुँदेका छन् । राष्ट्रिय मूर्तिकला कार्यशाला २०७७ अन्तर्गत ‘आस्था’ नाम दिएर मूर्तिहरु कुँद्न शुरु गरिएको हो ।

धार्मिक सेवा समिति मौलाकालिका मन्दिर, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गैँडाकोट नगरपालिकाको आयोजनामा धार्मिक वनमा रहेका ढुङ्गामा मूर्ति कुँद्न थालिएको हो । कार्यशालामा देशकै प्रमुख मूर्तिकारमध्येका लालकाजी लामा, राजन काफ्ले, हिम्मत नेम्वाङसहितको समूह छ । धार्मिक पर्यटकीय गन्तव्यका रूपमा अगाडि बढ्दै गएको मौलाकालिका मन्दिरमा थप आगन्तुकहरु भित्र्याउनका लागि मूर्तिकला महत्वपूर्ण हुने जनाइएको छ ।

धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिग्राम सापकोटाले यस मन्दिर नेपालकै मध्य भागमा रहेको तथा धार्मिक र पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण ठाउँ भएको हुनाले यसलाई अझै महत्व दिनका लागि सिँढीमार्गको दयाँबायाँ ढुङ्गामा मूर्ति कुँदिएको बताउनुभयो । “मूर्ति कुँद्ने भनेर हामीले दुई तीन वर्ष अगाडिदेखि ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभागसँग कुराकानी गरिरहेका थियौँ” सापकोटाले भन्नुभयो, “मूर्तिकला विभागबाट साथीहरु आउनुभएको छ, हामीहरु तीन वटा संस्था मिलेर यो कार्यशालाको आयोजना गरेका हौँ ।” मन्दिर आउने भक्तजन तथा पर्यटकलाई अलि रमणीयस्थलका रूपमा आकर्षित गर्नका लागि मूर्ति निर्माण गरिएको सापकोटाले बताउनुभयो ।

“हिन्दु धर्मावलम्बी मात्रै नभएर अन्य धर्मावलम्बीको पनि जुन खालको धार्मिक आस्था छ, त्यसलाई उजागर गर्न यहाँ आस्थाका मूर्ति निर्माण गरिएका हुन्”, सापकोटाले भन्नुभयो, “यहाँ कोही गणेशका, शिवका, बुद्धका, विष्णुका साथै हात्ती तथा कछुवाका मूर्ति निर्माण गरेर वन क्षेत्रलाई अझै आकर्षक बनाउँदैछौँ ।” धार्मिक पर्यटकलाई बढीभन्दा बढी भित्र्याउने उद्देश्यले सिँढीमार्गसँगै मूर्ति निर्माण गरिएको उहाँले बताउनुभयो । उकालो बाटो हिँड्ने बेलामा मूर्तिहरु हेर्दै हिँड्दा थकानको महसुस नहोस्, उहाँहरुको मन सन्तोष होस् भन्ने सोच रहेको सापकोटाको भनाइ छ । “यी मूर्ति हजारौँ हजार वर्षसम्म दिगो रहने कुरा भयो, कागजमा कोरेको तस्वीरजस्तो होइन”, उहाँले भन्नुभयो, “यो युगौँयुगलाई रहने र यस क्षेत्रलाई पर्यटकीय र धार्मिक दृष्टिकोणले सकभर मनोरम गराउने उद्देश्य हो ।”

कार्यशाला निर्माणका लागि करिब रु १५ लाख खर्च हुने धार्मिक सेवा समिति मौलाकालिकाले जनाएको छ । मूर्तिकारहरुलाई बस्ने, खाने तथा फर्किने बेलामा केही दक्षिणासमेत दिनुपर्ने भएकाले रु १५ लाखको हाराहारीमा खर्च हुने अध्यक्ष सापकोटाले बताउनुभयो । “ललितकला प्रज्ञा प्रतिष्ठानबाट कलाकार आउनुभएको हो, उहाँहरुलाई हामीले रित्तो हात फर्काउन भएन”, सापकोटाले भन्नुभयो, “फेरि पनि उहाँहरुको श्रमको मूल्य दिन त सक्दैनौँ तर केही खर्च दक्षिणाका रूपमा दिने सोच भने बनाएका छौँ ।” कार्यशालाको आयोजकको रूपमा गैँडाकोट नगरपालिकासमेत रहेको भए पनि हालसम्म कुनै प्रकारको सहयोग नभएको उहाँले गुनासो गर्नुभयो ।

कलावती आर्टस् काउन्सिलका संस्थापक कलाकार भीम शर्माले सहयोगी र कलाकार गरी १५ जनाको समूहले १५ दिन गैँडाकोटमा बसेर धार्मिक सांस्कृतिक महत्व झल्काउने खालका मूर्ति कुँद्ने बताउनुभयो । “गैँडाकोटको मौलाकालिका मन्दिर जाने सिँढीमार्गमा उपयुक्त पत्थरबाट मूर्ति सिर्जना गरिएको छ”, शर्माले भन्नुभयो, “मन्दिरमा जाने पैदलमार्गीहरुको लागि आकर्षण, आन्तरिक पर्यटनमा बढावा र प्रकृति सँगसँगै मानिसहरु रहन, बस्न र हिँड्नका लागि यसले थप ‘मोटिभेसन’ गर्छ भन्ने उद्देश्यका साथ यो शुरु गरिएको छ ।” मूर्तिकला कार्यशालाको प्राविधिक पक्षमा ललितकला प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभागले सहयोग गरेको भन्दै शर्माले स्थानीयरूपमा खानपान बसाइँ र कलाकारहरुलाई फर्किने बेलामा पकेट खर्चको व्यवस्था धार्मिक सेवा समिति मौलाकालिकाले गर्ने बताउनुभयो ।

सो क्षेत्रमा एक जना मूर्तिकारले कम्तीमा पनि एउटा मूर्ति निर्माण गर्ने शर्माले जानकारी दिनुभयो । “एक जनाले एउटा मूर्ति त सबैले बनाउनुहुन्छ” शर्माले भन्नुभयो, “कसैले अलि सानो मूर्ति बनाउनुभएको छ भने उहाँहरुले चाँडै सक्नुहुनेछ र उहाँहरुले दुईवटा÷तीनवटासम्म मूर्ति बनाउनुहुनेछ ।” श्रीपञ्चमीदेखि शुरु भएको यो मूर्तिकला यो १५ दिनमा नै नसकिने भन्दै उहाँले भन्नुभयो, “यसपटक हामीले शुरु गरेका छौँ, यसलाई हामीले आगामी वर्षहरुमा पनि निरन्तरता दिनेछौँ ।” यसपटक अलि व्यापक तरिकाले कार्यशाला गर्ने सोच बनाएको भए पनि कोभिड–१९ का कारण खर्च व्यवस्थापन गर्न नसक्दा कार्यक्रम प्रभावित भएको उहाँले बताउनुभयो ।

सो मूर्तिकला कार्यशालामा यही विषयमा स्नातकोत्तर गर्नुभएकी काठमाडौँकी मूर्तिकार अनमारी तामाङ पनि हुनुहुन्छ । कार्यशालामा १२ जना मूर्तिकारमध्ये अनमारी एक्लो महिला हुनुहुन्छ भने एक सहयोगी मूर्तिकार पनि महिला हुनुहुन्छ । एक वर्ष पहिला स्नातकोत्तर सक्नुभएकी अनमारीले सात वर्ष अगाडिदेखि मूर्तिकलाको काम गर्दै आउनुभएको छ । सत्ताइसौँ वसन्त पार गर्नुभएकी अनमारीले यस्तो कार्यशालामा सहभागी हुँदा मन प्रफुल्ल हुने बताउनुभयो । नेपालमा महिला मूर्तिकार औँलामा गन्न सकिने मात्रै भएको उहाँको भनाइ छ ।

“म स्नातकोत्तर पढ्ने बेलामा मेरो ब्याचमा मूर्तिकला पढ्ने म एक्ली महिला थिएँ”, अनमारीले भन्नुभयो, “मभन्दा अगाडिको ब्याचमा पनि एक÷दुई जनाबाहेक महिला मूर्तिकार हुनुहँुदैनथ्यो ।” अनमारीले मौलाकालिको सिँढीमार्गमा कछुवाको मूर्ति बनाउँदै हुनुहुन्छ । यो विष्णुको अवतार पनि भएको भन्दै अनमारीले कछुवा बनाउनुको कारण भने युवाहरुको मनोभावनासँग जोडिएको बताउनुभयो । “यो बाटोबाट हिँड्ने क्रममा कति जनाले बाबियोमा गाँठो बाँधेको देखिन्छ, त्यो भनेको दुई प्रेमीले आफूहरुको सम्बन्ध राम्रो होस् भनेर गाँठो बाँधेर हिँडेका हुन्” अनमारीले भन्नुभयो, “कछुवा भनेको एकदमै धैर्यको जनावर पनि हो, यसको जीवनकाल पनि लामो हुन्छ । यो बाटोमा हिँड्दा बाटो हिँड्न पनि गाह्रो छ, कछुवाले जस्तै सधैँ धैर्य गर्नुपर्छ भन्ने सन्देश दिन यो मूर्ति बनाएको हो ।”

मूर्तिकला मात्रै नभएर सबै प्रकारका काम गर्न गाह्रो नै हुने अनमारीको भनाइ छ । कार्यशालामा एक्लो महिला मूर्तिकार भए पनि अन्य पुरुषसँग काम गर्दा सहज नै भएको उहाँले बताउनुभयो । “ढुङ्गामा खोपेर मूर्ति बनाउन त गाह्रो नै हुन्छ । यसमा महिला पुरुष भन्ने कुरा हुँदैन”, अनमारीले भन्नुभयो, “तर कतिपय अवस्थामा महिलाको प्राकृतिक कारणले काम गर्दा अलि असहज हुने गरेको छ ।” मूर्ति बनाउँदा धेरै बल लगाउनुपर्ने भन्दै कहिलेकाहीँ अलि समस्या पर्ने उहाँले बताउनुभयो ।

मूर्तिकला कार्यशालामा मौलाकालिका मन्दिर उक्लिने सिँढीको बायाँतर्फको ढुङ्गामा झापाका हिम्मत नेवाङले कालीको मूर्तिलाई चिल्लो बनाउने कोसिसमा हुनुहुन्थ्यो । उहाँले कालीको आधा अनुहारको मात्रै मूर्ति कुँद्नु भएको छ । प्रकाश पर्दा मानिसको एकापट्टि छायाँ पर्ने उल्लेख गर्दै नेवाङले मूर्तिकलामा सिर्जदा गर्दा छायाँ कस्तो खालको हुन्छ भनेर आफूले देखाउनका लागि आधा अनुहार भएको मूर्ति सिर्जना गरेको बताउनुभयो । “कालीले आधा अवतार लिएको देखाउन खोजेको हो”, नेवाङले भन्नुभयो, “कालीको आभूषण जनाउनका लागि उनको टाउकोमा मानिसको आधा खप्पर नै राखेको छु, खप्परमा लामो सिङ पनि छ ।” कलालाई फ्युजन गर्नका लागि खप्परको सिङ निकालिएको नेवाङले बताउनुभयो ।

देवीदेवताको उभिएको, बसेको र सुतेको आसन हुने भन्दै नेवाङले उनीहरुको मुद्रासमेत हुने बताउनुभयो । “मूर्तिकला प्रतिमा लक्षणमा मुद्राका बारेमा उल्लेख गरेको हुन्छ”, नेवाङले भन्नुभयो, “काली भन्नासाथ उनको आभूषणमा मानव खप्परको हार हुन्छ, निधारमा अर्को एउटा आँखा र कानमा कुण्डल पनि हुन्छ, मैले त्यसैको मिश्रणमा यो मूर्ति निर्माण गरेको हो ।” एउटा ठूलो ढुङ्गामा सिर्जना गर्दा जस्तो ढुङ्गा छ त्यहीअनुसारको रचनामा ढाल्नुपर्ने नेवाङले बताउनुभयो । “ढुङ्गाअनुसारको कालीको मूर्ति सिर्जना गर्दा मानव खप्पर यहाँ उनको हारमा त आएन” नेवाङले भन्नुभयो, “मानव खप्पर हारमा नआएको कारणले कालीको निधारमा कालीको प्रतिकको रुपमा मानव खप्पर राखेको हो ।”

“मानव खप्परमा जनावरको सिङ पनि लगाइदिएको छु” नेवाङले भन्नुभयो, “कलालाई आधुनिकरण दिएर अलिकति ‘फ्युजन’ पनि गर्न खोजेको हो ।” काली दिनभर तल चराचुरुङ्गी, पशुपक्षी र मानवबस्तीमा सबैको रक्षा गरेर साँझ भएपछि यसो कसैले देख्ला कि भनेर कोल्टै पर्दै मन्दिरमा जान खोजेको देखाउन यस्तो मूर्तिको सिर्जना गरेको नेवाङको भनाइ छ । “यो मूर्ति मोमेन्टमा सिर्जना गरेको छु, कपालहरु फिँजारिएका छन्, जिब्रो बाहिर निकालिएको छ र काली कोल्टे परेकी छिन्” नेवाङले भन्नुभयो, “विथआउट आर्ट डेडआर्ट ९बिना गतिशिलता भएको कला मृत्यु कला हो० भन्छन्, त्यसैले कलाको नियमअनुसार जाँदा जहिले पनि कलामा मुमेन्ट देखाउनुपर्छ भन्ने कुरा यसमा देखाउन खोजिएको छ ।”

मौलाकालिका मन्दिर दर्शनका लागि जाँदा शुरुमा नै अजङ्गको प्राणी हात्तीको मूर्ति निर्माण भइरहेको छ । मूर्तिकार तमबहादुर पुनले हात्तीको प्रतिमा निर्माण गर्दै हुनुहुन्छ । जङ्गल पनि भएको र ढुङ्गाको आकार जस्तो छ सोहीअनुसार आफूहरुले मूर्ति निर्माण गर्ने गरेको पुनले बताउनुभयो । हात्तीको मूर्ति निर्माणका लागि निकै कठिन हुने भएकाले आफूलाई अर्का एक सहयोगी मूर्तिकारले समेत सहयोग गरिरहेको उहाँले बताउनुभयो । “आराम गरेर बसेको हात्ती बनाउँदैछु” पुनले भन्नुभयो, “थकाइ मार्नका लागि अढेस लगाएर आनन्दले बसेको हात्ती बन्दैछ ।”

भेटिएको ढुङ्गालाई राम्रोसँग हेर्ने र त्यहाँ कुन आकृति बनाउँदा राम्रो हुन्छ, के के राख्ने भनेर ‘स्केच’ बनाएपछि मात्रै मूर्ति कुँद्ने काम शुरु गर्ने कार्यशालामा सहभागी मूर्तिकार प्रकाश थापा ‘प्रथा’ले बताउनुभयो । “मूर्ति निर्माण गरेको यत्ति दिनमा सकिन्छ भन्ने थाहा हुँदैन तर बनाउँदै गएपछि चाँडै सकौँ भन्ने लाग्छ” प्रथाले भन्नुभयो, “मैले यहाँ शिवजीको मूर्ति, उहाँको माला, नाग र चन्द्रमाको मूर्ति कुँदेको छु ।” निर्माण गरिएको मूर्तिमा पेन्टस् गर्दा राम्रो नहुने भएकाले मूर्तिलाई पुछेर चिल्लो बनाइने उहाँले बताउनुभयो ।

धार्मिक वनमा ढुङ्गाहरुमा कुँदिएका कलात्मक धार्मिक र प्राकृतिक मूर्तिले मौला कालिकाको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने स्थानीवासीको पनि अपेक्षा रहेको छ । कोभिड–१९ का कारण घटेका पर्यटकहरु यहाँ मूर्ति निर्माणपश्चात विस्तारै बढ्दै जाने पनि स्थानीयहरुको अनुमान छ । पदमार्गको दयाँबायाँ रहेका ढुङ्गामा कुँदिएका मूर्तिले यस क्षेत्रको सौन्दर्यतासमेत बढाएको छ ।

प्रतिक्रिया दिनुहोस !