हुम्ला। हुम्लाको सिमकोट गाउँमा प्रत्येक वर्ष फागुन १२ गते मात्र मनाइने पर्व हो ‘चैतलो’ ।

विशेष पर्वका रुपमा मनाइने चैतलो पर्व यहाँका महिलाले धुमधामका साथ मनाएका छन् । श्रीमान्को मनोकांक्षा पूरा होस् भन्ने भाकल गर्दै उनीहरुले गाउँको सार्वजनिकस्थलमा गीत गाउँदै नाचेर यो पर्व मनाएका हुन् । यसलाई यहाँका सधवा महिलाहरूले पीत वस्त्रधारण गरेर गाउँको सभास्थल ‘चौपाडी वा भुओखाडो’ मा सामूहिक गीतनाचका रुपमा खेल्ने गरिन्छ । बसन्तलाई स्वागत गर्ने पर्वका रुपमा पनि यसलाई मान्ने गरिन्छ ।

गाउँगाउँ, टोलटोलबाट पीत वस्त्रधारण गरेर विभिन्न प्रकारका गरगहना लगाई सामूहिक रुपमा खेल्ने गीतनाच नै ‘चैतलो’ हो । गाउँका सबैलाई पायक पर्ने ठाउँ जसलाई स्थानीय भाषामा ‘चौपाडी, सभाथाडो, भुओखाडो’ भनिन्छ, त्यस ठाउँमा जम्मा भएर ज्येष्ठताका आधारमा पक्तिबद्ध भई ‘बाह्र भाइ नौ दुर्गा भवानी’ को प्रस्तुतिलगायत ऋतुको बारेमा गुणगान गाउने र गीतनाच खेल्ने गरिन्छ । यहाँ शुरुमा देवदेवी र पञ्चभूतत्वलाई खुशी पार्न माङ्गल, चुड्कीला, चाड्ची, आरती र प्रस्तुती गाइन्छ भने त्यसपछि रमाइलोका लागि चुड्कीला र देउडा खेल्ने गरिन्छ ।

चैतलो पर्व सिमकोट गाउँपालिकाका वडा नं १, २, ५ र ६ का महिलाले धुमधामका साथ मनाएको स्थानीयवासी लोग भण्डारीले बताउनुभयो । श्रीमान्को मनोकामना पूरा होस् भनेर बिहानैदेखि व्रत बसेर नुहाइधुवाई गरी महिला गीत गाउन सार्वजनिकस्थलमा जाने गर्छन् । शरीरमा गाउन लगाउने र पहेँलो कपडा ओढेर गीत गाउँदै नाच्ने महिलाको लस्करले निकै रमाइलो देखिन्छ ।

उमेरअनुसार जेठीबाट कान्छी क्रमशः दुई लाममा लाग्छन् । मुख्य गीत गाउने एक एक जना अगुवा हुन्छन् । अरुले उनको गीतलाई साथ दिएर गाउने गर्छन् । एक हप्ता अगाडिदेखि गीत गाउने अभ्यास पनि महिलाले गर्छन् । देवीदेवता र भगवान्को प्रार्थनाका साथै दुई पक्षबीच सवालजवाफ पनि हुने गर्छ ।

एक आपसमा मनका पीरमर्का पनि गीतबाटै व्यक्त गर्ने गरिन्छ । एक वर्षमा घरमा मान्छे नमरेको प्रत्येक घरबाट एक महिला चैतलो नाच्न जाने गरिन्छ । श्रीमान् बितेकी महिला भने उक्त गीत गाउन जानुहुन्न भन्ने सामाजिक मान्यता छ । चैतलो पर्वमा महिला नाचेको रमाइलो हेर्न टाढाटाढाका गाउँबाट पनि मानिस आउने गरेको उहाँले बताउनुभयो । चैतलो गीत गाउन गएकी महिलालाई आफन्त तथा माइती पक्षले मीठा परिकार बनाएर खुवाउने गरिन्छ । यसका साथै धामी पनि नाच्ने गरिन्छ भने राति महिला पुरुष मिलेर देउडा गीत गाउने गरिन्छ ।

यसलाई यस क्षेत्रको तीजभन्दा पनि ठूलो मान्ने गरिन्छ । आफ्ना पतिको दीर्घायुको कामना गर्दै नयाँ आउने ६ ऋतुको शुरुवाती वसन्त ऋतुको आगमनलाई स्वागत गरेर वर्षभरी नै राम्रो होस् भन्ने कामनाका साथ प्रकृति र संस्कृतिलाई संयोजन गर्ने गराउने पर्वका रुपमा ‘चैतलो’ लाई मानिंदै आएको छ ।

यो गिती नाचपछि आफ्न्त र नजीकका मित्रहरूलाई घरमा बोलाएर पुरी, खिर, भात, सेल, मासुलगायत अन्य विभिन्न मिष्ठान्नका परिकार खुवाउने चलन छ । यो विशेष पहिरन र आभूषण लगाएर सधवा महिला तथा कन्या केटीहरूले मात्र खेल्न पाउने महिला पर्व हो । यस पर्वमा चैतलो खेल्न जाने ‘चैतालई रानी’हरूले अनिवार्य रुपमा पहेलो रेशमी कपडाको लामो लुगा ओढ्नु पर्ने परम्परा नौलो र मौलिक रहेको सिमकोट गाउँपालिका वडा न. ५ की लक्ष्मी रोकायाको भनाइ छ ।

चैतलो पर्वका विभिन्न प्रकार भए पनि सिमकोट र ठेहे गाउँका खस (क्षेत्री) समुदायले मान्ने विशेष प्रकारको यो पर्वका बारेमा खोजी गर्नुपर्ने आवश्यकता देखिन्छ । यसलाई संस्कृति र प्रकृतिलाई अन्तरघुलन गर्ने गराउने एक सशक्त माध्यम मानिएको छ ।–हरिबहादुर रावत

प्रतिक्रिया दिनुहोस !