चितवन । चितवन केरा उत्पादक संघ चितवनद्वारा चितवनका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) ओम प्रकाश अधिकारी र रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठलाई स्वागत गरिएको छ । संघले रत्ननगरमा एक कार्यक्रमको आयोजना गरि भर्खरै सरुवा भई चितवन आउनु भएका प्रहरी प्रमुख अधिकारी र संघमा हालै निर्वाचित अध्यक्ष श्रेष्ठलाई स्वागत तथा सम्मान गरिएको हो ।
सो कार्यक्रममा संघका अध्यक्ष माधवप्रसाद घिमिरेले उहाँ हरुलाई खादा लगाई तथा केरा उपहार दिई स्वागत गर्नु भएको थियो । सो कार्यक्रममा बोल्दै चितवनका प्रहरी प्रमुख अधिकारीले चितवनको शान्ति,सुरक्षा र समुन्नत चितवन बनाउन आँफू सधैं लाग्ने बताउनु भयो । प्रहरी सधै गरिखाने बर्गको पक्षमा रहेको र ठगीखाने बर्गलाई कारबाहीको दायरा ल्याउन सधैं लागिपर्ने बताउनु भयो ।
केरा संघद्वारा आयोजित कार्यक्रममा अधिकारीले चितवनको केरा उत्पादनले देशमा केरा आयातमा कमि गराएको र देशको राष्ट्रिय उत्पादकत्वमा यो क्षेत्रले महत्त्वपूर्ण भुमिका रहेको बताउनु भयो । कृषिका कारण जिल्लाको शान्ति सुरक्षामा कुनै असर नपरेको र किसानको सुरक्षा सम्बन्धि हरेक गतिविधिमा प्रहरीको सधैं साथ रहने समेत बताउनु भयो । कार्यक्रममा रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले केरा ब्यबसायीका हरेक समस्या समाधानका लागि संघ सधैं साथमा रहेको बताउनु भयो । साथै उहाँले पुर्बी चितवनका उद्योगी, व्यवसायी हरुको हरेक समस्या र सुखदुःखमा आफू र संघ सधैं संगै रहने समेत बताउनु भयो ।
चितवन केरा उत्पादक संघका अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष फडिन्द्र लामिछानेले स्वागत मन्तव्य राख्नु भएको थियो । सो अबसरमा संघका पुर्ब अध्यक्ष बिष्णुहरि पन्त, महासचिव  जनकराज पन्त लगायतले केरा ब्यबसायी हरुलाई परेको समस्याका बारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा संघका निबर्तमान अध्यक्ष घननाथ महतो, संघका पदाधिकारी, सदस्यहरु तथा केरा किसान हरुको उपस्थिति रहेको थियो । सोही अबसरमा संघका नवनिर्वाचित कार्यसमितिले ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी प्रमुख (डिएसपी) रबिन कार्कीलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !