चितवन । सूचना तथा विचार–विश्लेषणहरुको महत्वपूर्ण संवाहक हो पत्रिका । चितवनमा कति छन् पत्रपत्रिका ? २०२१ सालदेखि अहिलेसम्म समाचारपत्र र साहित्यिकसमेत गरी २७० वटा पत्रपत्रिकाको संख्या भेटिएको वरिष्ठ साहित्यकार तथा समालोचक एवम् अन्वेषक डी.आर. पोखरेल बताउँछन् । नवलपरासीमा दर्ता जनअर्पण साप्ताहिकसमेत चितवनबाटै प्रकाशित छ । अहिले चितवनमा मात्रै दर्ता भएका दैनिक, साप्ताहिक, मासिक गरी जम्मा १८÷२० वटा जति पत्रपत्रिका निरन्तर प्रकाशित होलान् । तीमध्ये नारायणी टुडे मासिक दुई दशक पुरानो पत्रिका हो । सूचनाभन्दा पनि विचार–विश्लेषणमार्फत् छुट्टै पहिचान बनाउन सफल यो नारायणी टुडे नै चितवनको यस्तो पत्रिका हो कि जसले आफ्नो जन्मोत्सवलाई हरेक वर्ष विशेषोत्सवका रुपमा मनाउँदै आएको छ ।
गत बिहीबार आयोजित २० औं वार्षिकोत्सव पनि भरतपुरको संगोल ब्याङ्क्वेटमा धूमधामकै साथ भयो । पत्रिकाका प्रधानसम्पादक÷प्रकाशक वीरेन्द्रमणि पौडेलको अध्यक्षता एवम् राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा भएको उक्त वार्षिकोत्सव समारोहमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखदेखि नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, डाक्टर, समाजसेवी, पत्रकार महासंघ लगायत जिल्लाका क्रियाशील पत्रकारहरुको बाक्लै उपस्थिति रहेको थियो । कार्यक्रममा विदेशबाट नेपालीहरुको प्रतिनिधित्वसमेत भएको थियो ।
यसअघि १७, १८ र १९ औं वार्षिकोत्सव त विदेशमै मनाएको हो नारायणी टुडेले, थाइल्याण्ड र बेल्जियममा । यसपटक क्यानडामा मनाउने सोच थियो तर कोभिड महामारीका कारण यतै मनाइएको पत्रिकाका व्यवस्थापक भुवनमणि पौडेलले जानकारी दिए । ‘एउटै आकार–प्रकार र थेममा २० वर्षदेखि निरन्तर पत्रिका निस्कनु चितवनका लागि गौरवको कुरा हो । कहाँ गए त अरु त्यतिका पत्रपत्रिका ?’, समालोचक डीआर भन्छन्, ‘कोही दर्ता भए–त्यत्तिकै रहे, कोही २÷४ अंक, २÷४ वर्ष निस्किएर बन्द भए ।’ नारायणी टुडेका प्रधानसम्पादक पौडेल प्रभावशाली लेखक तथा पत्रकार मात्र नभई कुशल नेतृत्व क्षमता भएको व्यक्तित्व भएको पनि उनी बताउँछन् । पत्रिकाको वार्षिकोत्सवबारे डीआरले भने, ‘यो शो मात्रै होइन, पेशाप्रतिको समर्पण र गौरवको भाव देख्छु म ।’
कार्यक्रममा समेत उपस्थित नेपाल पत्रकार महासंघका उपाध्यक्ष नारायणप्रसाद अधिकारीले निरन्तर मेहनत ग¥यो भने सफलता प्राप्त गरिन्छ भन्ने उदाहरण नारायणी टुडे भएको बताउँदै यसरी मनाइने वार्षिकोत्सवले पत्रिकाको सम्बन्ध र प्रतिष्ठा जनमानसमा अरु बढाउने बताए ।
योगदानको कदर गर्दै नारायणी टुडे
चितवन÷‘सेवा नै धर्म हो’ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै आउनुभएको तपाईंले आफ्नो मेहनतको कमाइको केही हिस्सा समाजका कमजोर वर्ग र समाजसेवामा क्रियाशील विभिन्न सामाजिक संघसंस्थाहरुलाई उपलब्ध गराई सामाजिक रुपान्तरण प्रक्रियामा सहयोग पु¥याउनु भएकोले तासको जन्मदाताको रुपमा समेत परिचित तपाईंको उक्त मानवीय कार्यहरुको प्रशंसा गर्दै ……. सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामनासहित तपाईं श्री गोविन्दप्रसाद तिवारीज्यूलाई यो कदरपत्रद्वारा सम्मान गरिएको छ ।’
नारायणी टुडे राष्ट्रिय मासिकको २० औं वार्षिकोत्सवका अवसरमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको हातबाट व्यवसायी एवम् समाजसेवी तिवारीलाई यो कदरपत्र प्रदान गरिएको हो ।
भेटघाट रेष्टूरेन्टका प्रोप्राइटर तिवारी नै ‘तास’ परिकारका जन्मदाता मानिन्छन् । तीन किलो मासुबाट व्यवसाय सुरु गरेका उनको अहिले नारायणगढ, चितवनबाहेक काठमाडौंमासमेत व्यवसाय विस्तार छ । आजको दिनसम्म आइपुग्दा हरेक दिन कारोबार बढिनैरहेको उनी बताउँछन् । आफ्नो कमाइको केही हिस्सा दिल खोलेर सामाजिक कार्यमा खर्च गर्ने उनलाई अहिलेसम्म विभिन्न ११४ वटा सामाजिक संघ–संस्थाबाट सम्मान प्राप्त भइसकेको कार्यक्रम सञ्चालिका पत्रकार प्रमिता ढकालले जानकारी दिइन् ।
यस्तै, साँघुरो सामाजिक दृष्टिकोणका बीच सौन्दर्य पेशालाई अगाडि बढाउँदै अन्य दिदीबहिनीलाई पनि निःशुल्क तालिम दिएर स्वरोजगार बनाउन भूमिका खेलेको योगदानको कदर गर्दै सौन्दर्य पेशाकर्मी महिला सीता सापकोटालाई पनि नारायणी टुडेले सम्मान ग¥यो । यसैगरी, सोही अवसरमा सम्मानका क्रममा विगत लामो समयदेखि आफ्नै सञ्चारगृहमा कार्यरत रही पत्रिकाको निरन्तरता र स्तरोन्नतिमा विशेष सहयोग पु¥याउँदै आएकी कर्मचारी रमिला पन्तलाई एकलाख नगदसमेत नारायणी टुडेले प्रदान गरेको छ । साईकल चढेर नारायणगढदेखि रजहरसम्म पत्रिका वितरणमा खटिएको सुरुवाती दिन सम्झिँदै ‘यतिका वर्ष बितिसकेछ’, रमिलाले भनिन्, ‘हिजो झैं लाग्छ ।’ आजभन्दा ११ वर्षअघि नारायणी टुडेमा जोडिएकी रमिलाले यसबीच ग्राफिक डिजाइन, भाषा तालिम सिक्ने लगायत व्यक्तित्व विकास गर्ने विभिन्न अवसर पाएको भन्दै भनिन्, ‘निकै सन्तुष्ट थिएँ, यो पुरस्कार र सम्मानले अझ गौरवान्वित भएको छु । – अजय गोर्खाली

प्रतिक्रिया दिनुहोस !