चितवन । भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसका विद्यार्थीहरुले आइतबार राष्ट्रिय झण्डामुनि उभिएर राष्ट्रिय गान गाउँदै भ्यालेन्टाइन डे मनाएका छन् ।

गोरखाको लिगलिगकोटको ऐतिहासिक अध्ययन गर्न गएका क्याम्पसका मानविकी संकाय अन्तर्गत आमसञ्चार कक्षा १२ मा पढ्ने विद्यार्थीहरुले त्यहाँ राखिएको नेपालकै सबैभन्दा ठूलो राष्ट्रिय झण्डामुनि राष्ट्रिय गान गाउँदै भ्यालेन्टाइन डे मनाएका हुन् । ४० जना विद्यार्थी सहभागी कार्यक्रममा ‘माया’ भन्ने शब्दले प्रेमिप्रेमिकालाई मात्र नभएर देश प्रेमलाई पनि बुझाउने भन्दै उनीहरुले नेपाललाई माया गर्ने बताए ।

कार्यक्रमपछि पालुङटार नगरपालिकाकामा भएको अन्तरक्रियामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले अहिले देशको राष्ट्रिय स्वाधिनता संकटमा पर्दै गएकोले भविष्यका कर्णधार मानिएको विद्यार्थीहरु सचेत हुनुपर्ने बताए । उनले भने, ‘ऐतिहासिक भूमि गोरखाबाट सुरु भएको राष्ट्रिय एकता र स्वाधिनताको अभियान अहिले कमजोर बनेको छ । देशमा विदेशीहरुको चलखेल बढ्दै गएको छ । ’ उनले विदेशीहरुको चंगुलमा देश फस्दै गएकोले विद्यार्थीहरु देशलाई माया गर्दै देशमा नै केही गर्नुपर्छ भन्ने भावना भएको असल नागरिक बन्नुपर्ने विचार राखे । उनले भने, ‘असिमित सम्भावना भएको नेपालमा सुन फल्छ तर युवाहरु विदेशिँदै जानु विडम्वना हो ।’ उनले अबको विद्यार्थीहरु अनुशासित हुँदै देशको इतिहास र गौरवगाथाको बारेमा ज्ञान हुनु अनिवार्य छ ।

सप्तगण्डकी बहुमुखी क्याम्पसका आमसञ्चारका सहायक प्राध्यापक मधुसूदन दवाडीको नेतृत्वमा भएको कार्यक्रममा विद्यार्थीहरुले लिगलिगको कोटको ऐतिहासिक महत्वबारेमा स्थानीय बासिन्दासँग पनि अन्तरक्रिया गरेका थिए । कार्यक्रममा सहभागी ऐन्जिला चौलागाईले नयाँ खालको कार्यक्रम भएकोले नेपालको ऐतिहासिक पृष्ठभूमिबारे धेरै जानकारी भएको बताइन् । उनले भनिन्, ‘ प्राकृतिक र भौगोलिकरुपमा सुन्दर नेपाल एतिहासिकरुपमा पनि गौरवपूर्ण रहेछ भन्ने ज्ञान भयो ।

प्रतिक्रिया दिनुहोस !