
चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माडीको आयोजनामा माडीमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । नेकपा माडी नगर कमिटीका सदस्य रेशमलाल आचार्यको अध्यक्षतामा हिजो भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा भुमि समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवाली प्रमुख अतिथि रहनु भएको थियो । उहाँले आयोगले भुमिहिन र सुकुम्बासीको समस्या समाधानका लागि तिब्रताका साथ काम अगाडि बढाएको बताउनु भयो ।
नेकपाका केन्द्रीय सदस्य ज्ञवालीले पद र स्वार्थका लागि प्रचण्ड र माधव नेपालले पार्टी फुटाएर गएको बताउदै उहाँले मतपत्र च्यातेर छोरी जिताएको चितवनका जनता नबिर्सिएको बताउनु भयो । प्रधानमन्त्री ओलीले जनमुखी काम गरेर लोकप्रिय हुँदै गएपछि आफुहरु पछाडि पर्ने डरले अतालिएका माधव- प्रचण्ड पार्टी भित्रको राजनीतिक सहमति तोडेर भागेको ज्ञवालीले बताउनु भयो । देश समृद्धि र बिकाशको क्रममा अगाडी बढेको बताउदै उहाँले माडीमा नेपाल सरकारद्वारा थुप्रै बिकाशका कामहरु भैरहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री केपी ओलीको राष्ट्रभक्ती र देश बिकाशको अभियानलाई माडीबासीले साथदिने समेत बिश्वास व्यक्त गर्नुभयो ।

