जुम्ला । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र काठमाडौँले माथिल्लो कर्णालीका पाँच स्थानीयतहका पाँच दुर्गम गाउँ बस्ती झिलिमिली बनाउन साढे २ करोड अनुदान दिएको छ । अहिले जुम्लाका दुई गाउँ बस्तीसहित कर्णालीका पाँच स्थानीय तहमा सौर्य ऊर्जा जडान कार्य भइरहेको छ । केन्द्रको करिब २ करोड ४८ लाख अनुदानमा स्थानीय तहको स्वामित्वमा तीन महिनाभित्र सौर्य ऊर्जा उत्पादन हुनेगरी काम अघि बढेको हो ।

कर्णालीका पाँच स्थानीयतहका पाँच वटाका दुर्गम गाउँ बस्ती अबको तीन महिनापछि झिलिमिली हुँदैछन् । वर्षौँदेखि दाउरा झरो बाल्ने दुःखको अन्त्य हुने छ । पाँच गाउँका करिब एक हजारबढी घरधुरीका ५ हजार जती जनसङ्ख्या प्रत्यक्ष उज्यालोको पहुँचमा पुग्ने अनुमान छ ।

जसमा जुम्लाको गुठीचौर गाउँपालिका–२ मुरेली गाउँमा ५० किलोवाट,तिला गाउँपालिका–६ को पोखरी गाउँमा ५० किलोवाट सौर्य ऊर्जा जडान गर्न थालिएको छ भने, मुगुको सोरु गाउँपालिका–६, सोरुकोटमा ६० किलोवाट, जाजरकोटको बारेकोट गाउँपालिका–५ को लिम्सामा १ सय ७० किलोवाट र कालिकोटको रास्कोट नगरपालिका–९ फुकोटमा ७५ किलोवाट गरी जम्मा ४ सय ५ किलोवाटको सौर्य ऊर्जा उत्पादनको तयारी भइरहेको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“नागरिकलाई विकासको महसुस सडक बत्ती र सञ्चारले गर्छ । सडक संचार पुराइसकेका छौ । सदरमुकामदेखि करिब ४२ किलोमिटर टाढा तिला ७ पोख्री गाउँका नागरिकलाई उज्यालोको पहुँचमा ल्याउन काम भइरहेको छ ।”

सौर्य विद्युत् प्रणाली जडानका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ९० प्रतिशत र स्थानीय तहले १० प्रतिशत बजेटको व्यवस्था गर्नुपर्ने जुम्लाका गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले बताउनुभयो । ‘बोलपत्रका लागि सूचना आह्वान भइसकेको छ । तीन महिनाभित्र सौर्य प्रणाली जडान हुने उहाँले बताउनुभयो ।

कुन तहलाई कति अनुदान ?

सौर्य ऊर्जा उत्पादनका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट करिब २ करोड ४८ लाख बराबरको अनुदान आएको छ । जसमा जुम्लाको गुठीचौर गाउँपालिकामा ३५ लाख, तिला गाउँपालिकामा ३३ लाख अनुदान आएको छ ।

भने, मुगुको सोरु गाउँपालिकामा ३५ लाख, कालिकोटको रास्कोट नगरपालिकामा ५० लाख र जाजरकोटको बारेकोट गाउँपालिकामा ९५ लाख गरी साढे २ करोड अनुदान रकम विनियोजन भएको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले जनाएको छ । सबैभन्दा बढी जाजरकोटको बारेकोटमा १ सय ७० किलोवाट र कम जुम्लाका दुईस्थानीयतहमा ५०–५० किलोवाट बत्ती उत्पादन हुदैछ ।

विद्युत्को राष्ट्रिय प्रसारण लाइन नजोडिएको कर्णालीमा सौर्य ऊर्जाबाट विद्युत्को पहुँच वृद्धि गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगले नागरिकलाई ठुलो राहत हुने तिला गाउँपालिका उपाध्यक्ष विष्णुमाया बुढाले बताउनुभयो । उहाँले भन्नुभयो,“केन्द्र सँगको समन्वय र पहलमा गाउँमा सौर्य ऊर्जा उत्पादन हुने नागरिक उज्यालोको पहुँचमा पुग्नु नै खुसीको कुरा हो ।”

प्रतिक्रिया दिनुहोस !