
‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ आज बृहत्सभा गर्न थालिएको हो । जुलुसमा कम्युनिष्ट आन्दोलनको रक्षा गराँै, राष्ट्रिय स्वाधीनताको रक्षा गराँै, हामी जनता जाग्दैछाँै निर्वाचनमा लाग्दैछौँ , कम्युनिष्ट आन्दोलनको रक्षा गराँै जस्ता नारा लगाइएको छ ।
पार्टी प्रदेश कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्ला र देशभरिबाट नेता, कार्यकर्ता र पार्टी समर्थक आउने बताउनुभयो । सभा सफलतापूर्वक सम्पन्न गर्न पार्टी काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।
सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा, स्थायी कमिटी सदस्य सत्यनारायण मण्डललगायत नेताले सम्बोधन गर्नुहुनेछ । प्रदेश अध्यक्ष पोखरेलले पार्टीमा देखिएको सङ्कटबारे जानकारी दिन, सरकारले गरेका राम्रो कामको प्रचार गर्न, ताजा जनादेशमा जानका लागि आह्वान गर्न र कम्युनिष्ट आन्दोलनलाई अझ एकताबद्ध गराउन सभा गर्न लागिएको जानकारी दिनुभयो । प्रदेश कमिटीले सभा सम्पन्न गर्नका लागि बुधबार काठमाडौँमा १० हजार मोटरसाइकलको रयाली गरेको थियो ।