झापा। नदी नियन्त्रणका लागि पर्याप्त बजेटको व्यवस्था हुन नसक्दा झापाका मुख्य चार नदीको बाढीले आउँदो बर्खायाममा पु¥याउने क्षति विगतको तुलनामा दोब्बर हुनसक्ने अनुमान गरिएको छ । यहाँका कनकाई, रतुवा, मावा र विरिङ नदीले गत बर्खामा ६८९ घरधुरीलाई प्रभावित तुल्याएको थियो । खेतीका लागि उर्वर मानिएको जग्गामध्ये ३५० बिघा कटान र ७१० बिघा डुबान गरेको जनताको तटबन्ध कार्यक्रम झापाले जनाएको छ । सो बाढीबाट चार हजार २० जना प्रभावित भएका थिए ।

आउँदो वर्षा याममा बाढीमा जग्गाको कटान दोब्बरभन्दा बढी हुने र प्रभावित घरधुरी र जनसङ्ख्या अझ बढ्ने जनताको तटबन्ध कार्यक्रमले गरेको पूर्वानुमान अध्ययनले देखाएको छ । कार्यक्रमका प्रमुख रुपनारायण अधिकारीका अनुसार नदी नियन्त्रण कार्य नगरिएमा आउँदो बर्खामा बाढीले झापाका एक हजार ९६५ घरधुरीका १० हजार ६९५ व्यक्तिलाई प्रभावित पार्ने अनुमान गरिएको छ । सो कार्यालयको अध्ययनले आउँदो वर्षा याममा बाढी कनकाई, विरिङ, रतुवा र मावा नदीले पाँच हजार १०५ बिघा उर्वर जग्गामा कटान र डुबान गरेर क्षति पुरर्याउने प्रक्षेपण गरेको छ ।

नियन्त्रणका लागि रु ४० करोड आवश्यक
झापाका मुख्य चार नदीको बाढीले उर्वर जग्गामा क्षति पुरर्याएर किसानको उठिबास लगाउँदै आएको छ । विगतमा नियन्त्रणका प्रयास भए तापनि कोभिड–१९ को महामारीपछि सरकारले धेरै बजेट दिन नसक्दा नदी नियन्त्रणको कार्यमा असर परेको देखिन्छ ।

जनताको तटबन्ध कार्यक्रमका प्रमुख अधिकारीका अनुसार तत्काल नदी नियन्त्रणका लागि रु ४० करोड थप बजेट आवश्यक पर्दछ । चालू आर्थिक वर्षमा सङ्घीय सरकारले रु २० करोड बजेट दिएको थियो । सो बजेटको ९० प्रतिशत काम भइसकेको छ ।

नदीको दुबै किनारमा भरपर्दो तटबन्ध गर्ने हो भने नदीले क्षति पु¥याउन सक्दैन । कतिपय ठाउँमा जैविक प्रविधि प्रयोग गरी बाँस, घाँस जस्ता वनस्पति हुर्काएरसमेत बाढी नियन्त्रणको प्रयास हुँदै आएको छ । तारजालीमा ढुङ्गा भरेर गरिने तटबन्धन सबैभन्दा बढी प्रचलनमा रहेको छ ।
झापामा नदी नियन्त्रणका लागि सङ्घीय, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारले एकीकृत परियोजना ल्याउने हो भने प्रभावकारी हुने देखिन्छ । सीमित बजेटले विगतमा गरिएका नियन्त्रणका प्रयास सबै अधुरा छन् ।

खोला दोहनले बढ्यो क्षति

चुरे र महाभारत पहाडबाट उत्पत्ति भएका नदी झापा भएर बग्ने गरेका छन् । इलामको विभिन्न खोला मिसिएर बग्ने कनकाई झापाको सबैभन्दा ठूलो र बढी क्षति गर्दै आएको नदी हो । नदीबाट ढुङ्गा र बालुवा उत्खनन त्रुटीपूर्ण ढङ्गबाट गरिँदासमेत नदीको बहावमा असर परी बाढीले बढी क्षति पु¥याउने गरेको छ । तटबन्धन कार्यालयका प्रमुख अधिकारीले केही वर्षयता स्थानीय पालिकाले आफूखुशी नदीजन्य पदार्थको उत्खनन गरिरहेका कारण पनि बाढीको समस्या बढेको बताउनुभयो ।

‘‘नदीबाट ढुङ्गा बालुवा उत्खनन गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन अनिवार्य गरिनुपर्दछ’’, उहाँले भन्नुभयो,‘‘तर झापामा एकातिर वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने र अर्कातिर उत्खननका कार्य हुने गरेको छ । यसको भरपर्दो अनुगमन गरी अनाधिकृत उत्खनन रोकिनुपर्दछ ।’’

वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा स्थानीय पालिकाले जनताको तटबन्धन कार्यक्रमको कार्यालयसँग समन्वय नगरेको उहाँले बताउनुभयो । कतिपय नदीमा अनाधिकृत रुपमा खोलाको दोहन भइरहेको कारण नदीको धार बदलिएर बाढीका बेला बढी क्षति पु¥याउने गरेको उहाँको भनाइ छ ।

कनकाई, विरिङ, निन्दा, मेची, टिमाइ, रतुवा, मावालगायतका नदीबाट वर्षेनि ठूलो मात्रामा ढुङ्गा र बालुवा निकाल्ने गरिएको छ । स्थानीय पालिकाले प्रदेश सरकारको सहमतिमा उत्खननको ठेक्का लगाउने र करोडौं आम्दानी गर्दैै आएका छन् । आयआर्जन गरेका पालिकाले नदी नियन्त्रणमा बजेट छुट्याउन भने कञ्जुस्याइँ गर्दै आएका छन् ।

कनकाईबाट बढी क्षति

मध्य झापाको कनकाई नदीले शिवसताक्षी नगरपालिका, कनकाई नगरपालिका र झापा गाउँपालिकामा पु¥याउने क्षति सबैभन्दा बढी छ । गत बर्खायाममा कनकाई नदीले ती पालिकामा २२२ बिघा जग्गा कटान गरेको थियो भने २४५ बिघा डुबानमा पारेको थियो । सो बर्खामा १६९ घरधुरीका एक हजार २९० जनसङ्ख्या कनकाईको बाढीबाट प्रत्यक्ष प्रभावित भएका थिए ।
आउँदो बर्खामा कनकाई नदीले ८७५ घरधुरीका सात हजार १३५ जनसङ्ख्यालाई बाढीबाट प्रभावित तुल्याउने सरकारी पूर्वानुमान छ । नदी नियन्त्रणको कार्य नगरिएमा कनकाईको आउँदो बाढीले मात्र तीन हजार ५०० बिघा जग्गा कटान तथा डुबान गर्ने सम्भावना छ ।
पीडित भन्छन् : “खोला नपस्ने बनाइदेउ”

बाढीबाट धेरै प्रभावित पालिकामध्येको झापा गाउँपालिकाका दर्जनौं बस्ती वर्षेनि विचल्लीमा पर्ने गरेका छन् । बाढी गाउँमा पसेपछि विस्थापित भएका परिवारलाई विद्यालयलगायत नजिकैको सुरक्षित स्थानमा अस्थायी बासस्थान बनाएर राख्ने गरिँदै आएको छ ।

कनकाई नदीको बाढीले गाउँपालिका–१ को मिलनबस्तीमा सन्थाल समुदायका ८२ परिवारले वर्षेनि विस्थापितको पीडा भोग्दै आएका छन् । उनीहरुले खोला नपस्ने गरी तटबन्धन बनाइदिन माग गरे पनि सुनुवाइ भएको छैन । ‘‘खोला पसेर घर बगाउँछ, खाने र बस्ने केही बाँकी रहँदैन’’, झापा गाउँपालिका–१ की फुलमुनी हस्दा भन्नुहुन्छ, ‘‘हामी गरीबको कुरा कसैले सुनेन ।’’ सुरक्षित स्थानमा घरबास सारिदिन वा खोलामा बलियो तटबन्धन गरिदिन बाढी प्रभावित सन्थाल बस्तीका बासिन्दाको माग छ ।

गाउँपालिकाका अध्यक्ष जयनारायण साहले आफ्नो क्षेत्रमा बाढीको समस्या विकराल अवस्थामा रहेको र स्थानीय स्रोत साधनले नियन्त्रणको प्रयास सम्भव नहुने बताउनुभयो । ‘‘बाढीले क्षति पु¥याउने बस्तीको पहिचान भइसकेको छ,’’ गाउँपालिकाका अध्यक्ष साहले भन्नुभयो, ‘‘जनताको तटबन्ध कार्यक्रमसँग सहकार्य गरी यसपालि गाउँपालिकाले नदी नियन्त्रणको प्रभावकारी काम गर्ने सोचाइ बनाएका छौँ ।’’

स्थानीय सन्थाल समुदायका परिवार कतिपय खोला किनारमा झुप्रो हालेर बस्दै आएका छन् । जोखिमको बासस्थान भएकाले बाढीबाट उनीहरु छिटो प्रभावित हुने गरेका छन् । सोही वडाका सुका हस्दाले सरकारले सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाइदिए खोलाको किनारमा घर बनाउने बाध्यता हट्ने बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस !