चितवन। सप्तगण्डकी बहुमुखी क्याम्पसका दुई नवनियुक्त कार्यक्रम प्रमुखले हिजो देखि आफ्नो जिम्मेवारी सम्हालेका छन् ।

स्नातकोत्तर तह एमए र एमएड तथा अभ्यास शिक्षण कार्यक्रमको लागि कार्यक्रम प्रमुखको रुपमा नियुक्त भएका उपप्राध्यपक गोविन्दप्रसाद पराजुली र राष्ट्रिय परीक्षा बोर्डतर्फ कक्षा ११ र १२ को कार्यक्रम प्रमुखमा नियुक्त भएका सहायक प्राध्यापक सागर अधिकारीले औपचारिकरुपमा आफ्नो जिम्मेवारी सम्हालेका हुन् ।

क्याम्पसका क्याम्पस प्रमुख मणिराज महतो र सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापाले पराजुली र अधिकारीद्वयलाई खादा, माला र अबिरले पदस्थापन गरेका थिए । पदस्थापन कार्यक्रममा क्याम्पस प्रमुख महतोले क्याम्पसमा धेरैवटा कार्यक्रम सञ्चालित भएकोले प्रशासनिक कामलाई विकेन्द्रित गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि गर्न कार्यक्रम प्रमुखहरु थपिएको बताए । उनले भने, ‘ क्याम्पसको सम्पूर्ण शैक्षिक तथा प्रशासनिक गतिविधिमा क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखको मात्र ध्यान नपुग्ने भएकोले पनि हरेक विषयका कार्यक्रम प्रमुखहरु राख्ने व्यवस्था गरिएको हो ।’

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापाले क्याम्पसको शैक्षिक गुणस्तरमा सुधार ल्याउँदै भावी पुस्तालाई देशमा नै रोक्न सक्ने गरी काम गर्नुपर्ने विचार राखे । कार्यक्रमा नवनियुक्त कार्यक्रम प्रमुखहरु पराजुली र अधिकारीले क्याम्पसले दिएको जिम्मेवारी प्रभावकारी ढंगले पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा क्याम्पसका प्राध्यापकहरु, कर्मचारीहरु, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !