चितवन । प्रधानमन्त्री केपी शर्मा ओली शनिवार चितवन आउने भएपछि निकै लामो समयदेखि अलपत्र बनेको भरतपुर वाइपास सडकखण्डमा धमाधम पिच गर्ने काम भैरहेको छ । चार बर्षमा दुई किलोमिटर सडक विस्तारको काम नसक्ने ठेकेदारलाई प्रधानमन्त्री आउने भएपछि सडक डिभिजन कार्यालय भरतपुरमार्फत दवाव परेको छ । ठेकेदारले हाकिमचोकदेखि मालपोतचोकसम्मको सडक पिचको कामलाई तीव्रता दिएको छ । समयमा नै सडक विस्तारको काम नसकेको गौरी पार्वती निर्माण सेवालाई डिभिजन कार्यालयले पेनाल्टी (जरिवाना) तिराएर काम गराइरहेको छ । पटकपटक थपिएको म्याद पुस मसान्तमा सकिएपछि कार्यालयले सो कम्पनीलाई जरीवाना तिराएर सडकको काम लगाइरहेको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार ठेक्का सम्झौताको ०.०५ प्रतिशतदेखि १० प्रतिशतसम्म जरिवाना गराउने कानुनी व्यवस्था छ । ठेकेदार कम्पनीलाई १ करोड २० लाखसम्म जरिवाना हुन सक्ने देखिएको छ । सम्भौता र थपिएको म्याद सकिए पनि कामको जिम्मा सोही कम्पनीलाई हुने तर जरीवाना तिरेर मात्रैं काम गर्नुपर्ने डिभिजन प्रमुख अधिकारीले बताए । अधिकारीका अनुसार उसलाई अब काम गर्ने समयका आधारमा जरिवाना निर्धारण गरिने छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री, मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकसमेत चितवन आउने कार्यक्रम छ । मन्त्रालयका सचिव र महानिर्देशक शुक्रवार नै चितवन आएका छन् । प्रधानमन्त्री ओलीले शनिवार भरतपुर गोन्द्राङ्ग नारायणगढ ६ लेन सडक विस्तारको शिलान्यास गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, र शहरी विकास मन्त्री प्रभु शाह चितवन आउँदैछन् ।

प्रतिक्रिया दिनुहोस !