सल्यान । जिल्लाका मध्य तथा उच्च पहाडी जङ्गलमा केही समय अघि प्रशस्त पाइने सुगन्धवाल लोप हुन थालेको छ ।
जिल्लाका अधिकांश स्थानमा पाइने सुगन्धवाल पछिल्लो समय संरक्षणको अभावमा लोप हुँदै जान थालेको छ । समुद्री सतहको १ हजार ५ सय मिटर देखि ३ हजार ६ सय मिटर उचाइको चिसो, सेपिलो र ओसिलो ठाउँमा पाइने सुगन्धवाल हिजोआज निकै कम ठाउँमा मात्र पाउने गरेको छ ।
बजारमा ६ सय देखि ७ सय रुपैयाँ प्रति किलो सम्ममा बिक्री हुने सुगन्धवाल हराउँदै गए पनि वन उपभोक्ता समितिहरूले संरक्षणका बारेमा खासै चासो नदेखाउँदा हराउँदै गएको वनस्पति कार्यालयका विज्ञ कृष्ण पुनले बताउनु भयो । उहाँले भन्नुभयो ‘आयुर्वेदिक औषधीको रुपमा मुखको अल्सर, झाडा पखाला, पेट दुख्ने, वायु नाशक, मिर्गौला सम्बन्धी रोग लगायतका विभिन्न रोगका औषधीका साथै शक्तिवर्धकको रुपमा प्रयोग गरिन्छ ।’
सुगन्धवाल अत्यधिक दोहनका कारण लोप हुने अवस्थामा पुगेको छ । कतै कतै बारीका डिल तथा कान्लामा यसको अव्यवस्थित खेती गरेको पाइएता पनि व्यवसायीक खेती कहीँ कतै नगरको वनस्पति कार्यालय सल्यानले जनाएको छ ।
जिल्लाको कालिमा सामुदायिक वन उपभोक्ता समूह धनवाङ र गरगरे सामुदायिक वन उपभोक्ता समूह गुराँसेमा यसको वृक्षारोपण गरिएको विज्ञ पुनले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !