धरान । यस वर्षको सुन्तला सिजनयाम सकिन लागेको छ । कोशी करिडोरको पहाडी जिल्लाबाट धरान आयात हुने सुन्तला यस वर्ष बिक्री घटेको छ । यव वर्षको असिनापानीका कारण भोजपुर र धनकुटामा सुन्तला उत्पादन कम भएको कृषकले जनाएका छन् । पूर्वको कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार माघ पहिलो सातासम्म धरानमा दुई हजार ७०० मेट्रिक टन सुन्तला कारोवार भएको छ ।

सुन्तलाको याम अब एक महिना मात्र हो । गत वर्षको तुलनामा यो वर्ष झण्डै आधा बिक्री हुने उहाँको भनाइ छ । “फागुन अन्तिमसम्म सुन्तला आउँछ । अब लगभग एक हजार मेट्रिक टन सुन्तला बजारमा बिक्रीका लागि आउँछ”, व्यवस्थापक भट्टराईले भन्नुभयो, “यस वर्ष सुन्तला उत्पादन घटेसँगै बिक्री कम भएको हो ।” गत वर्ष कृषि बजारमा पाँच हजार १०० मेट्रिक टन सुन्तलाको कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस !