काठमाडौं । हिमालय एअरलाइन्स र यती एअरलाइन्सबीच व्यावसायिक सहकार्य हुने भएको छ ।उक्त प्रयोजनका निम्ति दुवै एयरलाइन्सले एकापसमा रणनीतिक व्यापार साझेदारी गरेका छन् । हिमालय र यती एयरलाइन्सले सञ्जाल एकीकरण, बिक्री वृद्धि विस्तार र दुवै कम्पनीको ई–कमर्श कार्य क्षमतामा क्रमिक विस्तारको लागि साझेदारी गरेका हुन् ।

एप्लिकेशन प्रोगामिङ इन्टरफेस (एपिआइ) को प्रभावकारी कार्यान्वयनका लागि पहिलो सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ र यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनोज रिमालले हस्ताक्षर गरेको यती एयरलाइन्सले जनाएको छ ।

नेपाल र चीनको संयुक्त लगानी रहेको निजी क्षेत्रको हिमालय एयरलाइन्सले हाल मध्यपूर्वी एशिया र दक्षिण एशियाका विभिन्न गन्तव्यमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेको छ भने निजी लगानीको यती एयरलाइन्सले नेपालभर सञ्जाल विस्तार गरी विभिन्न आन्तरिक गन्तव्यमा नियमित उडान गर्दै आएको छ ।

सम्झौताअनुसार दुवै एयरलाइन्सले आ–आफ्नो टिकट जारी गर्ने, नयाँ सेवालाई समावेश गर्ने, यात्रुलाई टिकट खरीदमा सरलीकृत बनाउनुका साथै आफ्ना सेवा एकअर्काको वेबसाइटमा सहज किसिमले उपलब्ध गराउने कम्पनीहरूले जनाएका छन् । यद्यपि यसमा आवश्यक प्राविधिक प्रक्रिया पूरा गर्न बाँकी रहेकोले कार्यान्वयनमा आउन केही समय लाग्नेछ ।

दुवै एयरलाइन्सले व्यवसायका लागि नयाँ स्रोत ल्याउन, यात्रुका बीच भरोसा बढाउन र व्यापारिक दक्षता बढाउने कार्य गर्न महत्वपूर्ण क्षमता राख्दछ । साझेदारीले सम्भावित यात्रुका लागि नवीन विचारहरू अन्वेषण गर्ने, ग्रहण गर्ने र प्रचार गर्ने जनाइएको छ ।

दुवै एयरलाइन्सका वेबसाइटका माध्यमबाट यात्रुले यती एयरलाइन्स, तारा एयर र हिमालय एयरलाइन्सले उडान भर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै गन्तव्यमा चाहेअनुसारको उडान सेवा छनोट गरी फाइदा लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस !