मकवानपुर । बागमती प्रदेशमा कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु भएको छ । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले बुधबार हेटौँडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा आयोजित कार्यक्रममा खोप अभियानको शुभारम्भ गर्नुभयो ।

सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा सामाजिक मुख्यमन्त्री पौडेलले खोप (कोभीशल्डि) हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईँलाई हस्तान्तरण गरी खोप अभियानको शुभारम्भ गर्नुभएको हो ।
खोप अभियानको शुभारम्भसँगै पहिलो खोप हेटौँडा अस्पतालका सुपरिटेण्डेण्ट डा. प्रविन श्रेष्ठलाई लगाइएको थियो । पहिलो दिन हेटौँडामा अग्रमोर्चामा रहेर कार्यरत १३३ जना स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको खोप लगाइएको जनस्वास्थ्य निरीक्षक चौलागाईले जानकारी दिनुभयो ।

यसअघि कार्यक्रममा मुख्यमन्त्री पौडेलले पहिलो चरणमा अग्रमोर्चामा रहेर काम गर्नेलाई खोप लगाइने भन्दै अभियान तेश्रो चरणसम्म सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, कोराना विरुद्धको खोप अभियानबाट हामीमा कोरोनालाई पराजित गर्न सक्छौं भन्ने आत्मविश्वास बढेको छ । उहाँले कोरोना विरुद्धको अभियानमा स्वास्थ्यकर्मीले पु¥याएको अभियानको प्रशंसा गर्नुभयो ।

हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्ले र प्रवक्ता डा. पुरुषोत्तमराज सेढाइले बागमती प्रदेशका १३ जिल्लाका ३५ स्थानबाट कोरोनाविरुद्धको खोप लगाईने जानकारी दिँदै अहिलेसम्म ७० हजार २४ जनालाई पुग्ने खोप प्राप्त भएको बताउनुभयो ।

हेटौँडाबाट प्रदेश २ का रौतहट, बारा, पर्सा गरी छ जिल्लामा खोप पठाईने भएको छ । यस्तै सोही अवसरमा मुख्यमन्त्री पौडेलले हेटौँडा अस्पतालमा स्थापना गरिएको पीसीआर ल्यावको उद्घाटन गर्नुभएको थियो । कोरोना विरुद्धको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका, सफाइकर्मी, एम्बुलेन्स चालक र वृद्धाश्रममा रहेका जेष्ठ नागरिक र हेरालुलाई लगाइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस !