शिशिर सिंखडा, चितवन । चितवन केरा उत्पादक संघको छैठौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन यही माघ १७ गते शनिबार हुने भएको छ । रत्ननगरको होटल स्टार बैंक्वेटमा बिहान ११ बजे हुने सो सभामा चितवनका केरा व्यवसायीहरुको सहभागी रहनेछ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिप पाण्डे रहनुभएको संघका अध्यक्ष घननाथ महतोले जानकारी दिनुभयो । सो तेस्रो अधिवेशनबाट अध्यक्ष सहित १५ सदस्यीय कार्यसमिति र ३ सदस्यीय लेखासमिति चयन हुने छन् । अधिवेशनमा चितवनका सम्पूर्ण केरा किसानहरुको सहभागिता रहने अध्यक्ष महतोले बताउनुभयो ।

वि.सं. २०६२ सालमा यहाँका केरा किसानहरुले पूर्वी चितवन केरा समिति गठन गरेका थिए । त्यसपछि सो संस्थाको नाम परिवर्तन गरी चितवन केरा समिति नामाकरण गरिएको थियो । त्यस लगत्तै चितवन केरा उत्पादक संघको नाममा संस्थाको नाम परिवर्तन गरिएको हो । यस संस्थाको संस्थापक अध्यक्षमा अम्विका प्रसाद अधिकारी रहनुभएको थियो । संघमा यस अगाडि बाबुराम भट्ट, यज्ञ प्रसाद सुवेदी, विष्णुहरि पन्तले अध्यक्ष भई संस्थाको नेतृत्व लिनुभएको थियो । हाल संघको अध्यक्षमा घननाथ महतो रहनुभएको छ ।
केरा उत्पादनमा अब्बल बन्दै चितवन जिल्ला
व्यवसायिक केरा खेतीको लागि चितवन जिल्ला अब्बल बन्दै गएको छ । हाल जिल्लामा ७ सय १२ जना व्यवसायिक किसानहरुले केरा खेती गर्दै आउनुभएको छ । जिल्लामा ३ हजार ५० बिगाहा क्षेत्रफलमा केरा लगाइएको संघका अध्यक्ष महतोले जानकारी दिनुभयो ।

चितवनमा एकवर्षमा करिव डेढ अरब रुपैया बराबरको आर्थिक कारोवार समेत हुने गर्दछ भने देशको केरा उत्पादनको १ तिहाई हिस्सा चितवनले ओगटेको छ ।
चितवनको कालिका, रत्ननगर, भरतपुर, खैरहनी लगायतका क्षेत्रमा व्यवसायिक रुपमा केरा खेती गर्ने किसानहरु धेरै रहेको र जिल्लाभरका सबै क्षेत्रमा नै नगदेबालीको रुपमा रहेको केरा खेती गर्दै आएको चितवन केरा उत्पादक संघ कालिका नगर संयोजक नारायणप्रसाद पुडासैनीले जानकारी दिनुभयो ।
केरा किसानहरुको समस्या
खुल्ला सिमानाका कारण भारतबाट आयात हुने केराले नेपाली केरा किसानहरु बेला बेलामा समस्यामा पर्ने गरेका छन् । भारतबाट अव्यवस्थित रुपमा केरा आयात हुँदा नेपाली केरा किसानहरु मर्कामा पर्ने गरेका छन् ।

एकातिर भारतीय केराका कारण मारमा परेका केरा किसानहरु केरामा लाग्ने विभिन्न रोगका कारण समेत मर्कामा पर्ने गरेका छन् । किसानले लगाएको केरामा गुबो मर्ने रोग, गभारो, पनामा, सिगाटोगा, बछिटप लगायतका रोगहरुले किसानहरु समस्यामा पर्दै आएका छन् । हाल चितवनमा मालभोग, विलियम हाइब्रिड, जि नाइन जस्ता केराहरु बढी मात्रामा लगाइने गरेको छ । चितवन लगायत नवलपरासी, सुनसरी, कैलाली, बारा, दाङ्ग लगायतका जिल्लामा पनि व्यवसायिक रुपमा किसानहरुले केरा खेती गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस !