दमौली । नेपाल पत्रकार महासङ्घ तनहुँका ६ पूर्वाध्यक्ष पुरस्कृत हुनुभएको छ । शाखाको आज आयोजित बाह्रौँ साधारणसभाका अवसरमा महासङ्घमा स्थापित ‘सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार’, ‘टीकानिधि ढुङ्गाना पत्रकारिता पुरस्कार’ र ‘भर्लेली केवलबहादुर स्मृति पत्रकारिता पुरस्कार’ पूर्वाध्यक्षलाई प्रदान गरिएको छ ।

सुरज गुरुङ पुरस्कार–२०७४ मुक्तिनाथ खनाल, २०७५ प्रकाशचन्द्र भट्टराई र २०७६ डम्बरबहादुर अधिकारीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि जनही रु पाँच हजार छ । टीकानिधि पुरस्कार–२०७५बाट विश्वबन्धु भण्डारी र २०७६बाट प्रदीप काफ्ले पुरस्कृत हुनुभएको छ । उक्त पुरस्कारको राशि जनही रु दश हजार छ । यसैगरी भर्लेली पुरस्कारबाट प्रेमप्रसाद पौडेल पुरस्कृत हुनुभएको छ । उक्त पुरस्कारको राशि रु दश हजार छ ।

तनहुँ जिल्लाको पत्रकारितामा उल्लेखनीय योगदान पु¥याएबापत उहाँहरुलाई पुरस्कृत गरिएको शाखाका अध्यक्ष ॐकार आचार्यले जानकारी दिनुभयो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उहाँहरुलाई नगदसहित सम्मानपत्रले पुरस्कृत गर्दै पत्रकारिता क्षेत्रको प्रबद्र्धनका लागि नगरपालिका सदैव प्रतिबद्ध रहेको बताउनुभयो । म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले पत्रकार शहरमुखी मात्रै हुन नहुनेमा जोड दिनुभयो ।
१७१ भायल कोभिड भ्याक्सिन

कोभिड–१९ विरुद्धको १७१ भायल खोप तनहुँमा आइपुगेको छ । भारत सरकारले सहयोगस्वरुप नेपाल सरकारलाई केही दिन अगाडि कोरोना भाइरसको दश लाख मात्रा खोप उपलब्ध गराएको थियो । सो खोप सरकारले जिल्लाजिल्लामा पठाउन शुरु गरेको छ । खोप प्रमुख जिल्ला अधिकारी सागर आचार्यले दमौली अस्पतालका प्रमुख डा सुनिल पौडेल र स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीलाई आज हस्तान्तरण गर्नुभयो ।

स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले स्वास्थ्य र सरसफाइ र शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी तथा एम्बुलेन्स चालकलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाइने जानकारी दिनुभयो । उहाँका अनुसार एक भायलबाट दश जनालाई खोप लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस !