काठमाडौं । सरकारले आगामी बुधवारदेखि देशभर कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।

भारत सरकारको अनुदानस्वरुप नेपाल ल्याइएको १० लाख डोज कोरोना विरुद्धको खोप यही माघ १४ गतेदेखि पहिलो चरणमा अग्रस्थानमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सरसफाइकर्मी एम्बुलेन्स चालक र शव व्यवस्थापन गर्नेहरूलाई खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनाएको छ ।

भारत सरकारको अनुदानस्वरुप नेपाल ल्याइएको कोरोना विरुद्धको खोप सुरक्षित छ वा छैन र यसबाट विभिन्न प्रकारका साइड इफेक्ट समेत हुने हो की भन्ने त्रास यति वेला आम नागरिकमा रहेको छ ।

भारतबाट अनुदान स्वरूप ल्याइएको खोप अक्सफोर्ड युनिभर्सिटीले अनुसन्धान गरेको, एस्ट्रेजेनेका कम्पनीले उत्पादन गरेको र भारतको सिरम इन्स्टिच्युटमा यसको प्लान्ट स्थापना गरिएको कोभिसिल्ड नामक खोप भारतलगायत धेरै देशमा ठुलो जनसङ्ख्यामा क्लिनिकल ट्रायल गरिसकिएको छ ।

उक्त खोपलाई विश्व स्वास्थ्य सङ्गठनले समेत आपतकालिन प्रयोगका लागि अनुमति समेत दिइसकेकाले सुरक्षित रहेको जनस्वास्थ्यविद् डाक्टर रविन्द्र पाण्डेले जानकारी दिनुभयो ।

पहिलो चरणको खोप अभियान अन्तर्गत १८ वर्षभन्दा माथिकालाई मात्रै लगाइने छ भने विभिन्न प्रकारका दीर्घ रोग लागेकालाई नलगाइने, बृद्धबृद्धा, गर्भवती तथा सुत्केरी महिलालाई पनि नलगाइने र स्वैच्छिक रुपमा मात्रै खोप लगाइने पनि जनस्वास्थ्यविद् पाण्डेले जानकारी दिनुभयो ।

संक्रमणविरुद्ध ल्याइने कतिपय यस्ता खोपहरूले कहिलेकाहीँ एलर्जी गराउने, खोप लगाइसकेपछि शरीरमा डाबरहरू आउने, श्वास फेर्न गाह्रो हुने लगायतका समस्या आउने गर्दछन् ।

नयाँ खोप र परीक्षणको क्रममा रहेकाले पनि विभिन्न अफवाहहरू फैलिएको हुनसक्ने भएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन्देशमूलक सूचनाहरू प्रवाह गरी यस्ता अफवाह हटाउनुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व महानिर्देशक डा। बाबुराम मरासिनीले बताउनुभयो ।

अहिलेसम्म कोरोनाविरुद्ध अमेरिका, बेलायत, चीन लगायतका मुलुकमा गरी ४ प्रकारका खोपहरू बनेका छन् । तर ती सबै खोपको तुलनामा भारतबाट ल्याइएको खोप नै नेपालको खोप भण्डारण गर्ने संरचनासँग मिल्ने खालको भएकाले नेपालका लागि व्यवहारिक मानिएको छ । यो खोप लगाइसकेपछि शरीरमा कोरोना विरुद्ध ९० देखि ९५ प्रतिशत एन्टिबडी बन्ने तथ्याङ्क रहेको छ ।

सरकारले सम्बन्धित सबै पक्षसँग विश्लेषण गरी विज्ञहरूको सुझाव अनुसार नै विश्वको सबैभन्दा ठुलो विश्वसनीय खोप उत्पादक कम्पनीले उत्पादन गरेको र संसार भरिका विज्ञहरूले उपयुक्त ठहराएको खोप नै नेपालमा ल्याइएकाले यसमा ढुक्क रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता समीर अधिकारीले आग्रह गर्नुभयो ।

यसको विश्वसनीयतामा प्रश्न चिन्ह नआओस् र सर्वसाधारणमा भ्रम नहोस् भनेर नै बाहिर खोप प्रयोग गर्न नदिइएको र सरकारले नै अभियान सञ्चालन गर्न लागेको पनि मन्त्रालयका सह प्रवक्ता डा। अधिकारी जानकारी दिनुभयो ।

माघ १४ गतेदेखि देशैभर ७ वटै प्रदेशका ६२ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सुरु गरिने पहिलो चरणको खोप अभियान अन्तर्गत कुल जनसङ्ख्याको ४ लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य राखिएको छ ।

कुल जनसङ्ख्यामध्ये ७२ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउनु पर्ने पहिचान भए अनुसार आवश्यक खोपको व्यवस्थाका लागि सरकारले सबै तयारी गरेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !