चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अदालतबाट संसद विघटनको मुद्दा सदर भएमा आफूहरु निर्वाचनमा जान तयार भएको बताएका छन् ।
आज राप्रपा पार्टी कार्यालय भरतपुरमा आयोजित अगुवा कार्यकर्ता भेलामा पत्रकारसँग कुराकानी गर्दै पार्टी अध्यक्ष थापाले संसद विघटन आफ्नो माग नभए पनि अदालतले संसद विघटनको मुद्दालाई सदर गरेको खण्डमा चुनावमा जान आफ्नो पार्टी तयार भएको बताएका हुन् । अध्यक्ष थापाले भने ‘निर्वाचन हुने सम्भावना धेरै छ । निरर्थक ढङ्गबाट चुनाव हुदैन भनेर परिस्थितिलाई अतिरन्जित गर्न जरुरी छैन । ’
गत पुस ५ गते मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा भएको संसद विघटनपछि राजनीतिमा नयाँ खालको तरंग आएको बताउँदै देशमा राजनीतिक र संवैधानिक जटिलता समेत थपिएको उनले बताए । अध्यक्ष थापाले विगतका त्रुटि र कमजोरीलाई सच्याउदै परिवर्तित राजनीतिको सन्र्दभलाई अवसरको रुपमा लिनुपर्नेमा पनि जोड दिए ।
संसद विघटनको मुद्दा सर्वोच्चमा विचाराधिन रहेकाले यसबारेमा अदालतलाई थप दबाब पार्ने अनुचित कार्य र टिकाटप्पणी नगर्न राजनीतिक दल, नागरिक अगुवालगायतलाई सुझावसमेत दिए ।

प्रतिक्रिया दिनुहोस !