ललितपुर । ललितपुर महानगरपालिका–१९ पूर्णचण्डीमा अवस्थित प्राचीन अग्निशाला छानोमा २४ गेज मोटाइको तामा राखिने भएको छ । पाँच हजार वर्ष पुरानो सो अग्निशालामा जति सानो गेज मोटाइको तामा प्रयोग गरिन्छ त्यति नै बढी वर्षसम्म टिक्ने र बाक्लो पनि हुने भएकाले चाँडै नबिग्रियोस् भनी सो गेज मोटाइको तामा हाल्न लागिएको हो ।

अग्निशाला व्यवस्थापन समितिका अध्यक्ष निगेन्द्रराज शर्माले अग्निशालामा एकदमै बाक्लो २२ गेज मोटाइको तामा छाउन मन भए पनि खरीद गर्न धेरै महङ्गो पर्ने भएकाले २४ गेज मोटाइको तामा छाउन लागिएको बताउनुभयो । उहाँका अनुसार ललितपुर महानगरपालिकाले २६ गेज मोटाइ तामा प्रयोग गर्न अनुमान गरिदिएको र रु ४० लाख दिएको हुँदा २२ गेज मोटाइको तामा खरीद गर्न धेरै रकम अभाव हुने भयो । छब्बीस गेजको तामा अलि पातलो हुने भएकाले २२ र २६ बीचको २४ गेज मोटाइ तामा गुणस्तरीय र लामो समय टिकाउ हुने आधारमा प्रयोग गर्ने योजना बनाएको उहाँले बताउनुभयो । उहाँका अनुसार विसं १९९० अघि यसमा झिँगटीको छाना छाइएको थियो । ९० सालको भूकम्पले छानो भत्किएपछि बेलायत सरकारबाट सहयोग प्राप्त जस्ताको छानो हालियो । अग्निशालालाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्न जस्ताको छानोले मान्यता नपाउने हुँदा तामाको छानो हाल्न लागिएको हो । “अब आउँदो १०० वर्षसम्म पनि यस तामाले काम देओस् भन्ने सोचअनुरुप महानगरपालिकाको अनुमतिमा केही फेरबदल गरी २४ गेज मोटाइको तामा हाल्न लागिएको हो ।” अग्निशालामा सो मोटाइको तामा प्रयोग गर्दा महानगरपालिकाले दिएको रकममा रु छ लाखदेखि सात लाख अपुग हुन्छ । सो अपुग भएको रकम जनश्रमदान वा भक्तजनबाट सङ्कलन गरी प्रयोग गरिने भएको शर्माले जानकारी गराउनुभयो ।

अग्निशालामा तामा छाउने भाग भत्काइसकिएको छ । भवनको बाँकी भाग भने जस्ताको तस्तै पुरानो शैलीमा रहनेछ । विसं २०७२ सालको गोरखा महाभूकम्पले अग्निशालाको भवनमा त्यति क्षति पुर्याएको देखिँदैन । अग्निशालाभित्र विष्णु, रुद्र, ब्रह्म, सभ्य, सूर्य र नाग गरी छ कुण्ड रहे पनि पाँच कुण्डको नामले परिचित रहेको छ । सलाइ बन्नु पहिलेदेखि नै विष्णु, रुद्र, ब्रह्म र सूर्य कुण्डमा आगो बल्ने गरेको पुजारी रविश्याम शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक दिन यहाँ राष्ट्र शान्तिका लागि अग्नि होम र सम्पूर्ण पितृ उद्धारका लागि ‘पितृयज्ञ’ का रूपमा श्राद्ध गरिन्छ ।

प्राचीन समयमा १८ थरीका दाउरा बालिने यस अग्निशालामा हाल भने किरा लागेका, ढुसी परेका, किला ठोकिएका, काँडा भएका बाहेक अन्य दाउरा बालिने गरिन्छ । यहाँ कृष्णपक्ष वा शुक्लपक्ष प्रतिपदाका दिन लगभग वर्षको २४ वटा विशेष होम गरिन्छ । प्रतिपदाका दिन अग्निशालामा ‘पुरोदासा’ अर्थात् चामलको रोटी पकाइन्छ । सो रोटीको सेवन गरेपछि लामो समय सन्तान प्राप्त गर्न नसकेका मानिसले सन्तान सुख पाउने विश्वास रहेको शर्माले बताउनुभयो ।

अग्निशालामा काठ रगडेर निकालिएको काष्ठाग्नि, ढुङ्गा रगडेर निकालिएको पासाग्नि, सूर्यको प्रकाशबाट निकालिएको सूर्याग्नि, जलकुण्ड त्रिवेणीबाट निकालिएको जलाग्नि र अग्निहोत्री बज्यैको नाइटोबाट निकालिएको जठराग्नि नामका पाँच धुनी बल्छन् । पाँच अग्नि एकै ठाउँमा बल्ने सो अग्निशाला विश्वको एक मात्र स्थान पाटनमा रहेको अनुमान गर्न सकिने स्थानीयवासीको बुझाइ छ ।

सम्पदा संरक्षणलाई प्राथमिकतामा राखी गौरवशाली योजनाअन्तर्गत यस वर्ष भने तामाको छानो फेर्न लपु महानगरपालिकाले रकम सहयोग गर्न सफल भएको प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !