काठमाडौँ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले आफूहरुबाट पनि विगतमा भएका गल्तीहरु केलाउनुपर्ने र आत्मालोचना गर्नुपर्ने बताउनुभएको छ ।

केपी ओलीको विरोधमा केन्द्रित अपीलमा नेताद्वयले आम जनसमुदाय एवं कार्यकर्ता पंक्तिलाई सम्बोधन गर्दै ६ पृष्ठ लामो अपील जारी गर्दै आफुहरुको पनि असंख्य गल्तीहरु भएको स्वीकारोक्ति गर्नुभएको छ । गल्तीहरु के के हुन भन्ने उलेल्ख गरिएको छैन ।

माधव नेपाल र प्रचण्डको संयुक्त हस्ताक्षरमा सोमबार जारी अपीलमा भनिएको छ, ‘यतिबेला नागरिक समाज र आम जनताबाट हाम्रो पनि केही आलोचना भइरहेको छ । हामी राजनीतिक दलका नेताहरुले पनि विगतका हाम्रा गल्तीहरुलाई केलाउनुपर्ने र आत्मआलोचित भएर जनभावनाअनुरुप अगाडि बढ्नुपर्ने आवश्यकता छ । यो आवश्यकताप्रति हाम्रो गम्भीर ध्यान गएको छ । हामीबाट विगतमा भएका कतिपय गल्ती कमजोरीहरुप्रति सजग हुँदै भविष्यमा फेरि त्यस्ता कमी–कमजोरी नदोहोरिउन् भन्ने कुरामा हामी सचेत छौं ।’

लोकतन्त्रमा नागरिकहरुले दल र दलका नेताहरुको आलोचना गर्नु स्वभाविक मात्र हैन, आवश्यक पनि हुन्छ भन्ने स्वीकारोक्ति अपीलमा गरिएको छ । ‘तर, यस्तो आलोचना तथ्यमा आधारित, वस्तुनिष्ठ र सन्तुलित हुनुपर्छ’ नेताद्वयले भन्नुभएको छ, ‘यस्तो आलोचनाको स्वागत गर्नुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस !