चितवन । एउटा सानो उपत्यका जस्तो भौगोलिक अवस्थिति भएको, चारैतिर वनजङ्गलले घेरिएको, धेरै खोलानालाहरु भएको, उत्तरी भेगमा चितवन राष्ट्रिय निकुञ्ज, दक्षिणी भेगमा सोमेश्वर सामुदायिक वन लगायत विभिन्न सामुदायिक वनहरु भएको माडी नगरपालिकाको आफ्नै वेदना छ । विकासका प्रचुर सम्भावना भएर पनि विविध अवरोधले माडीलाई पिरोलिरहेको छ । कतिपय अवस्थामा आफ्नै ठाउँमा पराइ झैं हुनुपर्ने माडीवासीलाई आफ्नै ठाउँ पनि पराइ झैं छ । माडीको वाल्मीकि क्षेत्र ५ नं. प्रदेशसँग जोडिएको, बाँदरझुला २ नं. प्रदेशसँग जोडिएको छ । माडीवासीलाई आवत्जावत् गर्नै असुविधा छ ।

माडी नगरपालिकाकी उपमेयर ताराकुमारी काजी महतो भन्छिन्, ‘हाम्रै नगरपालिकाको वडा नं. ९ मा जाँदा २ नं प्रदेश छिरेर फेरि रिटर्न भएर आफ्नै वडामा फर्किनुपर्छ । वाल्मीकि क्षेत्र हाम्रो वडा नं. १ पर्छ । तर वाल्मीकि क्षेत्र जानलाई हामी भरतपुर हुँदै नारायणी पार गरेर त्रिवेणी हुँदै इण्डियाबाट छिरेर आफ्नो वडामा आउजाउ गर्नुपर्छ । भारतीय पक्षबाट साह्रै इन्क्वाइरी हुन्छ, स्वतन्त्र रुपले त्यो ठाउँमा हामी जतिबेला पनि जान सक्दैनौं । तर त्यो हाम्रो आफ्नै ठाउँ हो, त्यो ठाउँको विकास हामीले नै गर्नुपर्छ । तर आवत्जावत्कै समस्या भएको हुनाले पनि इतिहास बोकेको वाल्मीकि क्षेत्रलाई हामीले जति गर्नुपर्ने, त्यति गर्न सकेका छैनौं ।’
उनी भन्छिन्, ‘चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा रहेकाले पनि हामीले चाहेजति विकास गर्न सक्दैनौं । हरेक काम गर्दा समन्वय गर्नुपर्ने, स्वीकृति लिनुपर्ने अवस्था छ । त्यस हिसाबले आफ्नै माडीसँग वाल्मीकिलाई जोड्न सकिरहेका छैनौं । राष्ट्रिय निकुञ्जकै कोर एरिया परेको हुनाले बाँदरझुला तथा ९ नं. का बासिन्दालाई पनि जोड्न सकिरहेका छैनौं । गत वर्ष बाँदरझुलाको एउटा गोरेटो बाटो बनाउने भनेर हामीले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको बजेटबाट सानो गोरेटो बनाएका थियौं, त्यो बनाउँदा पनि हामीलाई अवरोध आयो ।’

राष्ट्रिय निकुञ्जको बाटो चौबीसै घण्टा खुलाउने कुरा भइरहँदा त्यो पनि हुन सकेको छैन । दिउँसो हिँड्ने यात्रुवाहक बसमा अझै यात्रु झारेर चेकिङ गरिन्छ । एम्बुलेन्सलाई अलि सहज बनाइएपनि कसैको आफ्नै गाडी छ, उसको घरमा कोही बिरामी भयो, ऊ आफ्नै गाडीमा अस्पताल लैजान खोज्छ राति भने अवरोध आउने बताउँदै उपमेयरले भनिन्, ‘एम्बुलेन्सलाई अलि सहजतामा छोडेपनि अरुमा बिरामी नै भएपनि धेरै इन्क्वायरी गर्ने, त्यहीँ रोकिराख्ने, जीवनको कति महत्व हुन्छ, त्यो बेला एक–एक मिनेटको महत्व हुन्छ । तर एक–डेढ घण्टा इन्क्वायरी गरेर, अनेक सफाइ दिन लगाएर, फोन गरेर, सिफारिस गरेर लैजानुपर्ने अवस्थाले कतिपटक गर्भवतीहरुको अस्पताल लैजाँदा बाटोमै मृत्यु भएका घटना पनि छन् ।’ समस्या समाधानका विषयमा केही कुरा बाझिएको, निकुञ्ज तथा मध्यवर्तीको कानुनले समस्या भइरहेको उममेयर बताउँछिन् । माथिल्लो निकायमा वन सचिव, वन मन्त्रीदेखि प्रधानमन्त्रीसम्म पनि कुराकानी भइरहेको बताउँदै उनले भनिन्, ‘सबैको चाहना भए अवश्य हल हुन्छ ।’

माडी नगरपालिकाको सम्भावनाको कुरा गर्दा इको नगरपालिकाको अवधारणा लिइएको उपप्रमुखले बताइन् । चारैतिर हरियाली, खोलानाला, वातावरण स्वच्छ छ, उर्वरभूमि छ यहाँ । कृषिको असाध्यै सम्भावना छ यो क्षेत्रमा । केही कुरामा राष्ट्रिय निकुञ्जले अवरोध पनि पारेको छ भने केही कुरामा फाइदा पनि छ । निकुञ्जसँग जोडिएको पर्यटनको विकास गर्न सकिने सम्भावना छ । वन्यजन्तुको हिसाबले प्राकृतिक पर्यटनका साथै धार्मिक–ऐतिहासिक पर्यटकीय स्थल पनि छ, वाल्मीकि क्षेत्र, परशुराम कुण्ड, गोद्दकनाथ बाबा, बाँदरमुढे, एकतास्तम्भ, सोमेश्वर गढी ।
कृषि विकासका लागि सामूहिक रुपमा किसानलाई प्रोमोट गर्न खोजिएको बताउँदै उनले भनिन्, ‘मलाई लाग्छ नेपालको तेस्रो होला, सामूहिक खेतीको अवधारणा वडा नं. ८ मा सञ्चालित छ । सूर्याेदय कृषि सहकारीमार्फत् १०० बिघामा उहाँहरु सामूहिक खेती गर्नुहुन्छ । माछापालन, प्याज खेती, टनेल बनाएर तरकारी खेती, नगदे बाली लगाइएका छन् । कृषिलाई आधुनिकीकरण गर्नुपर्छ भनेर हामीले किसानहरुलाई आधुनिक कृषि उपकरणहरु अनुदानमा दिएका छौं । पशुपालन पनि माडीमा राम्रै छ । आन्तरिक खपत भएर पनि दैनिक सात हजार लिटर दूध माडीबाट बाहिर जाने गरेको छ । यो अवस्था अझै बढ्दो छ । नयाँ–नयाँ गाईफर्म खुल्ने, दर्ता हुने क्रममै छन् ।’ साना किसान कृषि सहकारीसँग समन्वय गरेर किसानहरुलाई ऋणमा सहयोग गरिरहेको उनले बताइन् । भनिन्, ‘सहकारीले ९ प्रतिशत ब्याजमा ऋण लगानी गर्दाे रहेछ । त्यसमा ५ प्रतिशत नगरपालिकाले तिरिदिने र ४ प्रतिशत मात्रै किसानहरुले तिर्ने गरी कार्यविधि बनाएर लगानी गरेका छौं ।’
शिक्षाको कुरा गर्दा माडीमा प्लस टु देखि मास्टर्स लेभलसम्मै पढाइ हुन्छ । जनप्रतिनिधि आएपछि दिवाकर बहुप्राविधिक शिक्षालय वडा नं. ६ मा स्थापना भएर अहिले ४–५ वटा फ्याकल्टीमा पढाइ भइरहेको बताइन्छ ।

स्वास्थ्यतर्फ जनप्रतिनिधि आएपछि नौ वटै वडामा नगर क्लिनिक सञ्चालनमा ल्याइएको छ । बघौडा अस्पतालमा भिडियो एक्सरेसहितको नर्मल डेलिभरी सेवा सञ्चालनमा ल्याइएको छ । बघौडा अस्पतालमा थप नयाँ अत्याधुनिक उपकरण ल्याएर सेवा विस्तार गर्न समस्या भइरहेको उपमेयर बताउँछिन् । ‘अस्पतालको आफ्नै भवन छैन । भवनको लागि लालपुर्जाको जग्गा चाहिने भन्ने भयो । अब यो माडी भनेको आधा जति जग्गा नापी भएको छैन । अस्पताल भवनको एक करोड बराबरको डिपिआर तयार भएको छ तर भवन दिनको लागि लालपुर्जाको जग्गा नपाएर हामीलाई समस्या छ’, उनले भनिन्, ‘नगरपालिकाको यो भवन पनि नापी भएको जमिन होइन । आशावादी छौं, चाँडै अस्पताल भवन बन्नेछ ।’ स्वास्थ्यकै सम्बन्धमा कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा कुरा गर्दा उपमेयरले भनिन्, ‘सुरुमा त हामीले कोभिडका लागि प्रत्येक वडामा क्वारेन्टिनको व्यवस्था ग¥यौं । अहिले त्यति एक्टिभ केस पनि छैन माडीमा । मलाई लाग्छ अहिले त्यही ५–७ जना भन्दा सक्रिय संक्रमित छैनन् । उहाँहरु होम आइसोलेसनमा हुनुहुन्छ । जतिबेला कोरोना चरम अथवा बढ्दो अवस्थामा थियो । त्यो बेला पनि हामीले माडीमा अन्यत्र जस्तो अनियन्त्रित हुन दिएनौं । अहिलेसम्म माडीमा कोभिडबाट मृत्यु हुने संख्या जम्मा १ जना । कुल संक्रमित पनि एकसय ६०–७० भन्दा बढी छैनन् ।’

 

प्रतिक्रिया दिनुहोस !