प्रचलित :

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि मुलुक भूगोल र जनसंख्याका हिसाबले सानो–ठूलो नहुने बताउनुभएको छ । भारतीय टेलिभिजन जी न्युजसँगको अन्तर्वार्तामा उहाँले एउटा भौगोलिक क्षेत्रमा रहेका दुई छिमेकबीच सार्वभौम हिसाबले सम्बन्ध हुनुपर्ने बताउनुभयो । ‘यो पुरानो जमाना होइन, यो स्वाधीनता र पारस्परिक सम्मानको समय हो,’ उहाँले भन्नुभयो । कुनै पनि विषयमा बहस हुँदैमा त्यसलाई अन्यथा मान्न नहुने उहाँले बताउनुभयो । त्रेतायुगदेखि नै दर्शनको सुरुवात भएको हुँदा स्वस्थ बहस हुनु राम्रो भएको ओलीले बताउनुभयो । त्यस्तो बहस सत्यतथ्य बाहिर ल्याउनका लागि हुनुपर्ने बताउनुभयो । राम लक्ष्मणको सम्वन्धको उदारण दिंदै भारत नेपालको दूलो दाजु होइन र रु भन्ने प्रश्नमा प्रधानमन्त्री सार्वभौमिक छिमेकीबीचको सम्वन्ध ठूलोसानोको नभएर समान हुने बताउनुभयो ।

ओलीले उमेरमा मोदी ठूलो भए पनि प्रधानमन्त्रीका रूपमा एउटा सार्वभौम मुलुकका हिसाबले सम्बन्ध रहने बताउनुभयो । ‘मोदीजीलाई व्यक्तिगत रूपमा सम्मान गर्छु तर देश सानो–ठूलो हुँदैन । यसलाई मोदीलाई सम्मान गरेन र बराबरी ठान्यो भनेर गलत अर्थमा बुझ्ने गरिन्छ । त्यस्तो होइन’ उहाँले भन्नुभयो । प्रधानमन्त्रीले भारत र चीन दुवै छिमेकी भएको हुँदा नेपाल एक–अर्काविरुद्ध कार्ड खेल्ने पक्षमा नरहेको बताउनुभयो । ‘एक–अर्काविरुद्ध कार्ड खेल्ने कुरा होइन, यसले राम्रो गर्दैन, कार्ड खेल्ने र छक्याउने काम तुरुन्त बन्द गर्नुपर्छ । दुवै छिमेकी विकासमा अगाडि भएकाले नेपालका लागि राम्रो अवसर हो’ उहाँले भन्नुभयो ।

चीन र भारतबीच लद्दाखको गलवान उपत्यकामा विवाद र नेपालले नयाँ राजनीतिक नक्सासँग कुनै सम्बन्ध नरहेको समेत ओलीले प्रस्ट पार्नुभयो । गलवानमा भएको हिसात्मक आमनेसामनेमा भारतले नेपालको समर्थन खोजेको आशयको प्रश्नमा प्रधानमन्त्रीले त्यसमा नेपालको कुनै सरोकार नभएको बताउनुभयो ।

‘गलवानसँग नेपालको कुनै सरोकार छैन, दिल्लीले नेपालको भूभाग राखेर किन नयाँ नक्सा निकाल्यो रु कश्मीर र लद्दाखमै किन सीमित नभएको रु त्यसपछि हामीले कूटनीतिक नोट पठायौं । वार्ताको प्रस्ताव ग¥यौं । कुनै सकारात्मक जवाफ आएन । फेरि हाम्रो भूमिमा सडक बनाएर उद्घाटन गरियो । हामीले विरोध ग¥यौं । त्यहाँ गलवानको विषयलाई किन जोड्ने रु’ नेपालले सधैं तटस्थताको नीति लिएको छ । दुई देशको राजनीतिमा कसैको पक्ष नेपालले लिदैन । बरु नेपालले दुई देशबीच सम्बन्ध सुधार गर्न वार्ताको पहल गर्न सक्छ ।’ भारतमा पछिल्लो समय नेपालले चीनको पक्ष लिइरहेको भन्ने बुझाइ गलत रहेको ओलीले बताउनुभयो । दुई ठूला हात्तीको द्वन्द्व र मित्रताको प्रसंग उल्लेख गर्दै नेपालले दुवै छिमेकीसँग सौहार्दपूर्ण सम्बन्ध राख्न चाहेको उहाले बताउनुभयो । ‘दुई हात्ती मिले पनि मैदान साफ, नमिले पनि साफ । तर दुई हात्ती मिले मैदान साफ भन्ने कुराचाहिँ म हटाउन चाहन्छु,’ प्रधानमन्त्रीले भन्नुभयो ।

नेपालले कुनै मुुलुकबिरुद्ध कार्ड नखेल्ने प्रधानमन्त्रीले बताउनुभयो । ‘भारत र चीन दुवै हाम्रा मित्रराष्ट्र हुन् । दुवै देश साथी नै हुन् । भारत–चीन विवाद नेपालको हितमा पनि हुँदैन । हामी कुनै देशविरुद्ध कार्ड प्रयोग गर्दैनौं । हामी दुवै देशबीच सन्तुलित सम्बन्ध विकास गर्न चाहन्छौं । दुई देशबीच विवाद बढ्दै गएको त्यसको असर नेपालले पनि भोग्नुपर्नेछ । त्यसैले हामी दुई देशबीच शान्ति र विकासका पक्षमा सहकार्य होस् भन्ने चाहन्छौं ।’ उहाले भन्नुभयो ।

आफ्ना लागि मोदी र सी मित्र भएको भन्दै उहाँहरुसँग कुनै पनि बिषयमा छलफल गर्न सक्ने बताउनुभयो । ‘दुवै देशका नेता हाम्रा साथी हुन् । म चिनियाँ राष्ट्रपति सी चिनफिङजीसँग पनि कुरा गर्न सक्छु । प्रधानमन्त्री ली कछ्याङजीसँग र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग पनि कुरा गर्न सक्छु । हामीहरु साथीजस्तै मात्रै होइनौं, साथी नै हौं ।’ उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले नेपालको जमिन र आकाश कुनै देशविरुद्ध पनि प्रयोग गर्न नदिने बताउनुभयो ।

ओलीले भारतसँगको सम्बन्ध थप सुदृढ बनाउने बताउनुभयो । वैशाखमा घोषणा गरिएको चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने बताउनुभयो । ‘बहुमत ल्याउँछौं, नभए सबैभन्दा ठूलो दल त बन्छौं नै, चुनावपछि दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउँछौं,’ उहाँको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले अहिलेको जमाना विगतमा जस्तो अरूलाई लुट्ने नभएर आफैंले विकास गर्ने भएको र त्यो शान्तिबाट मात्र सम्भव हुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अहिले औपनिवेशकालीन जमाना नभएको र त्यसको अवशेष छ भने त्यसलाई मनमस्तिष्कबाट समाप्त पार्नुपर्ने बताउनुभयो । ‘अखण्ड भारत कहिल्यै थिएन । पूरै भारत वर्षअन्तर्गत विभिन्न राज्य थिए’ उहाँले भन्नुभयो । राम जन्मभूमिको विषयमा विवाद गर्नेभन्दा पनि रामको पवित्र जन्मभूमि पहिचान हुनुपर्छ भन्ने पक्षमा आफू रहेको उहाँले बताउनुभयो । चीन र भारतसँग नेपालको सम्बन्धको सन्दर्भमा भारतसँग नेपालको धेरै भाषा मिल्नुका साथै कर्णाली, कोसीलगायतका नदी बगेर जाने तर त्यहाँ रहेका माछा र चरालाई सीमाको मतलव नहुने प्रधानमन्त्रीको भनाइ थियो ।

भारतले सत्य र तथ्यलाई मान्नुपर्ने र भावनालाई बुझ्नुपर्ने उहाँले बताउनुभयो । ‘नक्सा भारतले पनि निकाल्ने गरेकाले नेपालले नक्सा निकाल्नुलाई स्वाभाविक रूपमा लिनुपर्छ । भारत र पाकिस्तानले पनि बेग्लाबेग्लै नक्सा निकालेका छन्, त्यसैले जुन दिन विवाद सुल्झिन्छ, त्यो दिन हाम्रो पनि एउटै नक्सा निकालिनेछ, । सार्वभौमिकता र भौगोलिक अखण्डताको सवालमा सानो र ठूलो भन्ने हुँदैन, हामी सबैसँग समान व्यवहार गर्छौं,’ उहाँले भन्नुभयो ।

https://youtu.be/ByCU9WjhTSc

प्रतिक्रिया दिनुहोस !