काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको गणतन्त्र खतरामा परेको भन्दै गरिएको प्रचार निराधार हल्ला भएको बताउनुभएको छ ।

नेकपा सुदूरपश्चिम स्तरीय बृहत् आमसभालाई शुक्रबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले आफूले लोकतन्त्र र गणतन्त्रका लागि ५० बर्ष लामो संघर्ष गरेको बताउँदै आफूले त्यस्तो कल्पना समेत नगर्न सबैमा आग्रह गर्नुभयो ।

देश र जनताको पक्षमा काम गर्न दिएनन् त्यसैले विकल्पका लागि नयाँ जनादेशमा जाने निर्णय गरिएको हो प्रधानमन्त्री ओलीले भन्नुभयो, “अन्तर्राष्ट्रिय प्रचलन, संविधान र जुन हिसाबले पनि प्रतिनिधिसभा पुनःस्र्थापना हुँदैन, अब चुनावबाटै गठन हुन्छ ।” चुनाव तोकिएकै मिति वैशाख १७ र २७ गते हुने उहाँले विश्वास दिलाउनुभयो । चुनाव तोकिएकै मितिमा हुने भएकाले निर्वाचन अभियानमा लाग्न उहाँले सबैमा आग्रह गर्नुभयो ।

विरोधीलाई केही गर्नुपर्दैन, जनताले भोट नहाले पुग्छ प्रधानमन्त्री ओलीले भन्नुभयो, “देशको पक्षमा, जनताको पक्षमा काम गर्नेलाई भोट दिएर जिताएर पठाउनुस् ।” तपाईहरु राम्रो मानिस जिताएर पठाउनुस्, देश विकास गर्ने जिम्मा म लिन्छु उहाँले भन्नुभयो । यो सरकारले गरेको विकासको काम तपाईहरु सबैले देख्नुभएको छ भन्नुहुँदै प्रधानमन्त्री ओलीले थप विकासको काममा आफू लागिपरेको बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले पार्टी महाधिवेशनमा आफूसँग अध्यक्ष पदमा पराजित भएका नेता माधव कुमार नेपाललाई अध्यक्षको मोह पलाएकाले पार्टी फुटमा गएको बताउनुभयो ।

 

“चोइटिएर जानेहरुलाई म भन्न चाहन्छु दुई अङ्कमा सिट ल्याएर देखाउनुस्, देशभरीमा दश सिट ल्याएर देखाउनुस्” प्रधानमन्त्री ओलीले भन्नुभयो, “यो पार्टी सम्धी, छोरीबुहारीवाला पार्टी होइन, देश बनाउने र जनताको पार्टी हो ।” आफन्त नभएका कोही पनि हुँदैनन्, तर टपक्क टिप्दै राख्नु ठीक होइन, मैले त्यसो गरेको छैन उहाँले भन्नुभयो । कसकसका आफन्त कहाँ कहाँ छन, सबै थाहा छ भन्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “पचास वर्षअघि नयाँ एकताको अभियान थालनी गरेर आएको व्यक्ति हुँ, काम लाग्छ कि भनेर पार्टीमा प्रचण्डलाई पनि ल्याएर आएको थिएँ ।”

अँध्यारोमा उड्ने, हिंड्ने बानी लागेकाहरु घाम लागेपछि टिक्न सक्दैनन् प्रधानमन्त्री ओलीले भन्नुभयो, “यस क्षेत्रमा लाटाकोसेराहरु टिक्न सक्दैनन् ।” भ्रमको खेती गरेर अब कोही अघि बढ्न नसक्ने भन्नुहुँदै उहाँले जनता सचेत भइसकेको बताउनुभयो ।

कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूभाग भएकाले त्यसलाई ससम्मान फिर्ता लिने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाउनुभयो । नेपाली भूभाग समावेश गरेर नयाँ नक्सा प्रकाशन गरिएपछि देशभित्रकै नक्कली राष्ट्रवादीहरुलाई पीर परेको भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस !