काठमाडौं ।‘बाह्र वर्षमा खोलो फर्कन्छ’ भन्ने उखानलाई गलत सावित गर्दै ५० वर्षपछि वाग्मती नदीको मुहानस्थलको करीब सात किमी भागलाई विसं २०२१ को नापी अनुसारकै बहाव क्षेत्रमा फर्काइएको छ ।

सुन्दरीजलबाट गोकर्णसम्मको करीब सात किमी नदीलाई नापीअनुसारको बहाव क्षेत्रमा फर्काउँदा सयौँ मानिसले वर्षौंदेखि हराएको जमीन पाएका छन् । पचास वर्षपछि नदी पुरानै धारमा फर्काइँदा स्थानीयवासीले एक हजार १०० रोपनी जग्गा पाएको यसको नेतृत्व गर्नुभएका अभियानकर्मी केशवप्रसाद पुडासैनी बताउनुहुन्छ ।

वाग्मतीलाई पुरानै धारमा फर्काउने अभियानको नेतृत्व गर्दा एक महिना तीन दिनसम्म असहमत पक्षले धम्की दिएको उहाँ बताउनुहुन्छ । “जग्गा पुरानो धारमा फर्काउन ३३ दिन लागेको समयमा म ३१ रातसम्म त आफन्तकहाँ गएर बसेँ, एक दिन नगरकोट र एक दिन बाह्रबिसे बसेर काम सक्ने समय गुजारेँ”, नदीको जग्गामा कमाइ खाएकाको धम्की सहनु पर्दाको पीडा सुनाउँदै पुडासैनीले भन्नुभयो ।

वाग्मतीलाई पुरानै धारमा फर्काउन २०६६ पुस १९ गते सम्झौता भएको थियो । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका तत्कालीन अध्यक्ष महेशबहादुर बस्नेत र नेपाली सेनाको विकास निर्माण तथा स्थपति महानिर्देशनालयका तत्कालीन प्रमुख उपरथी नरेशबहादुर बस्नेतबीच सम्झौता भई मुहान क्षेत्रको वाग्मतीलाई २०२१ सालमा भएको नापीको बहाव क्षेत्रमा फर्काउने अभियान शुरु भएको हो ।

सम्झौतापछि स्थानीय राजनीतिक दलका नेता कार्यकर्तासँग समेत २०६६ चैत ६ गते सहमति गरी त्यसको भोलिपल्टदेखि काम शुरु गर्न लागिएको थियो । चैत ७ गते पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन भएपछि चैत ९ गतेदेखि मात्र काम शुरु भएको थियो । बहाव क्षेत्र परिवर्तन गर्दै हिँडेको नदीले वाग्मती फाँटका सात हजार रोपनी जग्गा खान्छ भन्ने किसानलाई डर थियो । पुरानो बहाव क्षेत्रमा फर्काएपछि किसानले गरिखाने ठाउँ जोगिएकामा खुसी व्यक्त गरेका छन् ।

स्थानीय शशीधर पुडासैनी वर्षौंदेखि कर तिरिरहेको जग्गा नदीमा परेकामा नदीको बहाव परिवर्तन गराएसँग प्राप्त भएको बताउनुहुन्छ । यसबाट परिवारमा खुशी छाएको उहाँले सुनाउनुभयो । थुप्रै किसानले गुमेको जग्गा धार परिवर्तनसँगै पाएका छन् ।

वाग्मतीलाई पुरानो धारमा फर्काउने क्रममा यस क्षेत्रका नौ वटा सहायक नदीमा पुल हालिएको छ । दुई स्थानमा सवारी चल्ने पक्की पुल नै निर्माण भएको छ । ढकाल खहरे, मरुवा खहरे, बञ्चरे, म¥याङघाट खहरे, थलीबाट नयाँपाटी निस्कने स्थान, कोलमतेश्वर र उत्तरगया नजिकै पनि झोलुङ्गे पुल बनेका छन् ।

नामगेल–कोलमतेश्वर–थली र बिपी चोक–भद्रवास जोड्ने वाग्मती नदीमाथि भने सवारी चल्ने पक्की पुल निर्माण भएको छ । नदीलाई पुरानै बहाव क्षेत्रमा फर्काएपछि सडक विभागले दुई पक्की पुल निर्माण गरेको हो । पुल बनाउने कामको नेतृत्व पनि पुडासैनीले नै गर्नुभयो ।

विसं २०६५ को माघे सङ्क्रान्तिमा देवघाट दर्शनमा जाँदा त्यहाँ सुनेको प्रवचनको प्रभावमा वाग्मतीलाई पुरानै बहावमा फर्काउने सङ्कल्प गरेको उहाँ सुनाउनुहुन्छ । देवघाट यात्राका क्रममा डा रामानन्द गिरी, आत्मानन्द गिरी र ज्ञानानन्द गिरीको प्रवचनको प्रभावले एक हजार १०० रोपनी नदीमा परेको जग्गा किसानले पाएका छन् । नदी वाग्मतीमा परे पनि जग्गाधनीले कर भने स्थानीय सरकारलाई बुझाउँदै आएका थिए । ।रासस

प्रतिक्रिया दिनुहोस !