प्रचलित :

जुम्ला। जुम्लाका आठवटै स्थानीय तहका जनप्रतिनिधि छुई गोठमुक्त अभियानमा जुटेका छन् । सो प्रथालाई समाजबाट अन्त्य गर्ने अभियानमा जुटेको जनप्रतिनिधि बताउँछन् । स्थानीय सरकार गठन भएदेखि ती सरकार र यहाँका सामाजिक सङ्घसंस्था मिलेर महिला तथा धामीझाँक्रीलाई चेतना फैलाउँदै गाउँलाई छुई गोठमुक्त गर्न थालिएको अभियान निकै प्रभावकारी देखिएको छ।

जिल्लामा पछिल्लो समयमा महिला तथा सरोकारवाला निकायहरूले तातोपानी गाउँपालिका–४ हाँकु गाउँलाई छुई गोठमुक्त गरेको छ । सो गाउँपालिकाको आयोजना तथा सर्वोदय नेपाल जुम्लाको समन्वयमा महिनावारी भएको अवस्थामा छुई गोठमा नबस्ने भन्दै सामूहिकरूपमा प्रतिबद्धतापत्रमा हस्ताक्षर गराई छुई गोठमुक्त गाउँ घोषणा गरिएको वडाध्यक्ष धिरज जैसीले बताउनुभयो । उहाँले भन्नुभयो, “महिला र धामीझाँक्रीलाई सचेत गराउँदै सामाजिक कुसंस्कारका रूपमा रहेको छुई प्रथालाई आजकै दिनबाट गाउँबस्तीबाट हटाउने अभियानमा स्थानीय सरकार लागेको वडाध्यक्ष जैसीले बताउनुभयो ।”

यो अभियान कुनै धामीझाँक्रीका विरुद्ध नभई महिलालाई स्वास्थ्य र पोषणयुक्त खानासहित सामाजिक तथा मानसिक हिंसाबाट बचाउने अभियान भएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो । सो गाउँपालिकाले लाम्रा, हियाखोला, जैतपुर र बाइराका गाउँलाई छुई गोठमुक्त गरिसकेको गाउँपालिकाले जनाएको छ ।

जिल्लामा सामाजिक विकृतिका रूपमा रहेको छुई प्रथा न्यूनीकरण गर्ने अभियानमा लागिपरेका सामाजिक सङ्घसंस्था र यहाँका स्थानीय सरकारको पहलमा २१८ गाउँबस्तीमध्ये २७ गाउँबस्ती छुई गोठमुक्त भएको सर्वोदय नेपालका छाउगोठमुक्त अभियन्ता कमलराज खत्रीले बताउनुभयो । विगतका वर्षभन्दा अहिले महिनावारीको समयमा गोठमा बस्ने चलन धमाधम मानसिकरूपमै भत्किन थालेको स्थानीयवासी ममीता शाहीले बताउनुभयो ।

धामीझाँक्रीकै घरबाट छुईगोठमुक्त यहाँको तातापानी गाउँपालिका–४ स्थित हाँकु गाउँकी गौरीकला विक छुई भएका बेला घरमा बस्न खोज्दा छिमेकीले घृणा गर्न थाले । शुरुशुरुमा उनी गाउँका धामीझाँक्री र धार्मिक आस्थावान् व्यक्तिहरुको तारो बनिन् । छाउ हुँदा घरभित्र बसे देवीदेवता लागेर अनिष्ट हुन्छ भन्ने डरका कारण सो गाउँका अरू महिलाले पनि घरमा बस्ने आँट गर्न सकेनन् । अहिले भने सो गाउँ छाउगोठमुक्त भएको छ । पहिले छुई भएका बेला घरमा कोही नबस्ने चलनले अहिले गोठमा कोही बस्दैनन् गौरीकलाले भन्नुभयो, “छुईगोठमुक्त गर्न बाधक बन्ने धामीझाँक्रीलाई सम्झाइबुझाइ गरी उनीहरुकै घरबाट छुई भएका महिलालाई घरमै बसाल्न थालेपछि अहिले सिङ्गो गाउँ नै छुईगोठमुक्त भएको स्थानीयवासी माया कामीले बताउनुभयो ।”

चिसो याममा गाईवस्तुसँगै गोठमा बस्दा निकै पीडा हुन्थ्यो अहिले घरमा बस्दा सहज भएको स्थानीयवासी हरिदेवी केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँका सबै दिदीबहिनी एकजुट भएर छुईगोठमुक्त गर्न सफल भएका छौँ । पशुसँगै गोबर र फोहोरमा बस्दा महिलाको स्वास्थ्यमा गम्भीर असरसमेत पर्ने गरेको थियो ।

छुई हुने नियमित प्रक्रिया भए पनि अमानवीय व्यवहार गरेर घरमा पस्न वञ्चित गर्नु अपराध सरह भएको स्थानीयवासी केसीले बताउनुभयो । “छाउगोठमा बसेकै कारण महिलाहरू बलात्कारदेखि हत्याको सिकार हुनु परेको छ, जीवजन्तुको डर उत्तिकै छ”, तातोपानी–७ सर्मीकी स्थानीयवासी दर्शना कुँवरले भन्नुभयो, “आफ्ना छोरीचेली घरमै सुरक्षित नभए अन्त कहाँ होलान् सबै मिलेर समाजका यस्ता कुसंस्कृतिको अन्त्य हुुनुपर्ने बताउनुभयो ।”

प्रतिक्रिया दिनुहोस !