पाँचथर । कोभिड–१९ को महामारीसँग जुध्न जारी गरिएको बन्दाबन्दी लकडाउनले समाजका धेरै क्षेत्रमा निकै गहिरो प्रभाव पारेको छ । बन्दाबन्दीले आम मानिसको जीवनमा गम्भीर समस्याहरु सिर्जना गरेको भए पनि केही सकारात्मक प्रभाव पनि यहाँ देखिन थालेका छन् । गत चैत ११ गतेदेखि कडाइका साथ लागू गरिएको बन्दाबन्दीले आम मानिसको दैनिकीमा नै परिवर्तन ल्यायो । दैनिकीमा आएका परिवर्तनले भ्रमण संस्कृतिको विकास हुन थालेपछि पूर्वी पहाडको आन्तरिक पर्यटन जुर्मुराउन थालेको छ । गाउँ होस् वा शहर बजार सबै ठाउँका मानिसमा समय मिलेपछि घुम्न जाने बानी बन्दाबन्दीकै कारण विकास भएको देखिएको छ ।

करीब ती हजार ६०० मिटर उचाइमा रहेको तीनसीमाना पुग्नु धेरै मानिसका लागि चुनौतीपूर्ण काम हो । लेक लाग्ने समस्या, न्यूनतम पर्यटकीय पूर्वाधारको अभाव, भ्रमण सहयोगी अभाव, खाने बस्ने प्रबन्धको अभाव जस्ता समस्या रहे पनि नेपाल–भारत सीमावर्ती तीन सिमानामा गत भदौ यता दैनिक सयौँ आन्तरिक पर्यटक पुग्न थालेका छन् । करीब तीन हजार २०० मिटर उचाइमा रहेको गोर्खेपानीमा होटल सञ्चालन गर्नुभएका नवीन सावदेन दैनिक सयौँ पर्यटक सीमा क्षेत्रमा आएको देख्दा अचम्मित हुनुहुन्छ । “बन्दाबन्दीपछि दैनिक सयौँ मानिस आउन थालेका छन् । गाडी र बन्दोबस्तीका सामग्री ल्याएर दिनभर यहाँ रमाइलो गरेर फर्कन्छन्”, सावदेनले भन्नुभयो, “गाउँ–गाउँका मानिस निकै दुःख गरेर घुम्न आउन थालेका छन् ।”

करीब दुई हजार ८०० मिटरदेखि तीन हजार ६०० मिटरको उचाइमा रहेको फालोट क्षेत्र मनोरञ्जनका दृष्टिले निकै आकर्षक रहेकाले पर्यटकको उल्लेख्य उपस्थिति हुन थालेको छ । “नेपालतर्फ व्यवस्थित बाटो नहुँदासमेत पर्यटक आइरहेका छन् । अहिले त भ्रमण संस्कृतिको विकास भएजस्तो लाग्छ”, फालेलुङ–४ का श्याम थाम्सुहाङले भन्नुभयो, “पहिले यहाँ पदयात्रामा निस्कने भारतीय पर्यटकहरु मात्रै भेटिन्थे । अहिले नेपालीको बाक्लो उपस्थिति देखिन्छ ।” फालोट क्षेत्रबाट नेपाल, सिक्किम ९भारत० र भूटानका हिमाल हेर्न सकिने भएकाले यहाँ पर्यटकको चाप बढेको छ ।

यहाँबाट सर्वोच्च शिखर सगरमाथादेखि सिक्किमको लाचेलाचेन तथा भूटानका हिमालसमेत देख्न सकिन्छ । यो स्थान दक्षिण एशियाकै सबैभन्दा धेरै हिमाल देख्न सकिने स्थानका रुपमा समेत परिचित छ । यहाँबाट सूर्योदय, सूर्यास्त र पहाडी भू–भाग, चौंरीपालन, भेडापालन, जडीबुटीलगायत पाइने हुँदा पर्यटकको चाप बढेको छ । “बन्दाबन्दीपछि आसपासका क्षेत्रका पर्यटकको चाप ह्वात्तै बढेको छ”, यस क्षेत्रको पर्यटन विकासमा सक्रिय चन्द्रलाल नेपालले भन्नुभयो, “वनभोज खान आउनेको सङ्ख्या पनि बढ्दै गएको छ । अब पूर्वाधार विकास र प्रचारप्रसार बढाउनसके बाह्य पर्यटक भित्रने वातावरण बनेको छ ।”

यहाँको दीपज्योति युवा क्लबले विभिन्न प्रचार सामग्रीमा तस्वीर राखेर प्रचार गरेपछि चर्चामा आएको फालेलुङकै मुवा झरनामा अहिले दैनिक सयौँ पर्यटक पुग्छन् । स्थानीयवासी गीता जबेगुले भन्नुभयो, “नहुँदा पनि दिनमा ४०–५० जना मानिस आउँछन् । कहिलेकाहीँ २०० जनासम्म पर्यटक आइपुग्छन् ।” झरनासम्म सडक विस्तार गरी थप पूर्वाधार बनाउनसके पर्यटकको चाप हुने फालेलुङ–६ का वडाध्यक्ष सुजाता बान्तवाको अनुमान छ । “बन्दाबन्दीपछि मानिसमा समय मिले घुम्नुपर्छ भन्ने लाग्न थालेको पाइन्छ”, बान्तवाले भन्नुभयो, “स्थानीय पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा जुट्न सके अर्थतन्त्र चलायमान बनाउन सकिन्थ्यो ।”

मेची राजमार्गको आसपास हिलिहाङ र याङवरक गाउँपालिकामा रहेका पर्यटकीयस्थल जोरपोखरी, आगेजुङ गुम्बा, भोटेगढी, कालोपानी, ५२ मौलो कालिका धाम, हिलिहाङ दरबार क्षेत्रमा समेत दैनिक पुग्ने पर्यटकको सङ्ख्या उल्लेख्य हुने गरेको छ । जोरपोखरीमा पोखरीसहित शहीद पार्क तथा माङहिम ९मन्दिर० मा घुम्ने र तस्वीर खिच्ने दिनहुँ बढिरहेका छन् । हिलिहाङ दरबार क्षेत्रमा हिलिहाङको शालिक तथा दरबारको भग्नावशेष क्षेत्रमा घुम्ने प्रशस्तै भेटिन्छन् । यहाँ आउने अधिकांश पर्यटक स्थानीय हुने गरेको हिलिहाङ–६ का राजन खतिवडाको भनाइ छ । याङवरकमा रहेको ५२ मौलाकालिका धाममा यस वर्ष घुम्न पुग्नेहरु पनि प्रशस्तै छन् । “पहिलेभन्दा घुम्न आउनेहरुको सङ्ख्या बढेको छ । बन्दाबन्दीपछि यो क्रम बढेको पाएको छु”, याङवरक–४ का वडाध्यक्ष शहरनन्द योङहाङले भन्नुभयो, “वडा, गाउँपालिका तथा केही स्थानीयवासीको सहयोगमा पर्यटकीय क्षेत्रमा पूर्वाधार थप्दै छौँ ।”

पाँचथर–ताप्लेजुङ सीमामा पर्ने तिम्बुपोखरी घुम्न जाने पर्यटकको सङ्ख्या विगतका वर्षमा भन्दामा वृद्धि भएको छ । साउनदेखि असोजसम्म तिम्बुपोखरी पुग्न सकिन्छ । करिब चार हजार ४८० मिटरको उचाइमा रहेको तिम्बुपोखरी पुग्न निकै कठिन पर्छ । कम्तीमा पाँच दिनको पैदल यात्राले मात्रै तिम्बुपोखरी पुगेर फर्कन सकिन्छ । यसवर्ष पाँचथरसहित आसपासका क्षेत्रका पर्यटक तथा तीर्थयात्री धेरै भेटिएको गोठ सञ्चालक देउकुमार बेघा बताउनुहुन्छ । “यस वर्ष स्थानीय मानिस नै धेरै भेटिए”, बेघाले भन्नुभयो, “बन्दाबन्दीले लामो समय घरैमा बस्नु परेकाले लामो पदयात्रा भएपनि घुम्न निस्केको भन्ने धेरै भेटिए ।” तिम्बुपोखरी पुगेर फर्कनुभएका याङवरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङ अहिले त घुम्न जाने चलन नै सुरुआत भएको वताउनुहुन्छ । “यतिबेला घुम्न जानुपर्छ भन्ने लागेर हिँडेका धेरै मानिस भेट्टायौँ”, योङहाङले भन्नुभयो, “धेरै मानिस जिल्ला भित्रकै हुनुहुन्थ्यो । हामी पनि त्यहि लहरले तिम्बुपोखरी पुग्यौँ ।”

फिदिम नगरपालिकामा पर्ने साधुटार, लब्रेकुटी, सिलौटीलगायत स्थानमा घुम्न पुग्नेको सङ्ख्या पनि उल्लेख्य हुने गरेको छ । किराँत धर्मावलम्बीको मुख्य धार्मिकस्थल लब्रेकुटी र सिलौटी घुम्न आउने बाह्य पर्यटक घटे पनि आन्तरिक पर्यटक प्रशस्तै हुने गर्दछ । पछिल्ला केही वर्षदेखि चर्चामा आएको साधुटारमा भने सधैँ पर्यटकको घुँइचो लाग्ने गरेको छ । फिदिम–१४ मा रहेको सुकेपोखरीमा पुग्ने र यहाँ सञ्चालित घरबास ९होमस्टे०हरुमा बास बस्नेहरु उल्लेख्य सङ्ख्यामा रहेको घरबास सञ्चालक सुरेश राई बताउनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस !