प्रचलित :

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट चोइटिएर पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले एउटा समुह निर्माण त गर्नुभयो । तर त्यो समुह बिचारविहिन, सिद्धान्तविहिन र लक्ष्यविहिन छ ।

जसरी पनि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई सिध्याउने योजना बनाएको उक्त समुहले सत्ताबाहेक केही देखेन भन्ने प्रमाणित छ । न आत्माविश्वास छ, न जनताप्रतिको विश्वास छ । घरभित्रका जनताको विश्वास नभएपछि उक्त समुह बाहिरिया शक्तिलाई गुहार्दैछ, जसले उ कताबाट निर्देशित छ भन्ने थप प्रमाणित गर्दैछ । प्रचण्ड र माधवले लोकतन्त्रको रक्षाको नारा दिंदै गुहारेको वाह्य समुदायले पनि उनीहरुलाई लालबत्ती देखाएको छ ।

उता, मुल नेकपामा भने प्रधानमन्त्री ओलीको सक्रियता ह्वात्तै बढेको छ भने नेता र कार्यकर्तामा थप उत्साह छाएको छ । कार्यकारी अध्यक्षको आत्मारतीमा रमाएका प्रचण्डले नेकपालाई प्रभावकारी बनाउने, चलायमान गराउने काम कहिले पनि गर्नुभएन । उहाँको दैनिकी कोटेश्वरहुँदै बालुवाटार पुग्ने र फेरी फर्कदा कोटेश्वर हुँदै खुमलटार पुग्नेमात्र भयो । उहाँले खुमलटारदेखि कोटेश्वरसम्म त नोन स्टप एक्सप्रेस नै चलाउनुभयो, र त्यसपछि वालुवाटार पुग्दा चाँही थकित हुनुभयो ।

पार्टी एकतापछिक तीन बर्षमा कार्यकारीले न पार्टी एकीकरण पुरा गर्नेलाई प्राथमिकतामा राख्नुभयो न जनतामा नेकपाको महत्व स्थापित गर्ने प्रयास गर्नुभयो । उहाँ सँधै वालुवाटार र सिंहदरवारलाई लक्ष्य बनाएर त्यसकै वरीपरी दौडिरहनुभयो । १५ बर्ष पार्टी चलाएर पुच्छरमा पुर्याएका माधव नेपालले प्रचण्डलाई सत्ताका लागि यसरी उकासे, आखिर दुबै नउठे्ने गरी लडेका छन् ।

ऐजेरु फालेपछि आउने आनन्दको अनूभूति नेकपा कार्यकर्तामा देखिएको छ । प्रधानमन्त्री ओली जहाँ जानुहुन्छ, त्यहाँ कार्यकर्ताको भीड लाग्छ । ओली जहाँ पुग्नुहुन्छ, त्यँहा स्वागत गर्न कार्यकर्ताहरु पुगिहाल्छन् । माओवादीसँग एकता गरेपछि वाध्य भएर स्विकारेका र पछि निस्सासिएका नेता र कार्यकर्ता बल्ल सक्रिय भएका छन् ।

प्रधानमन्त्री ओलीले खिया लागेका नटवल्टु हटाएपछि नेकपारुपी गाडी दौडिन थालेको छ । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले न प्रचण्ड माधवलाई कारवाही गर्नुभयो, न कसैलाई हटाउनुभयो । उहाँले मौजुदा समितिलाई कायम राख्दै अध्यक्षका हैसियतमा निर्वाचनलाई केन्द्रित गरी कार्यसमिति बिस्तार गर्नुभयो ।

यसले देशब्यापी रुपमा नेता र कार्यकर्तामा उत्साहा छायो । अहिले दैनिकजसो काठमाडौंमा मात्र होइन, ७७ जिल्लामै कार्यक्रमहरु भइरहेका छन् । केन्द्रस्तरीय, प्रदेशस्तरीय, जिल्लास्तरीय र गाउस्तरीय कार्यक्रमहरु फटाफट भइरहेका छन् ।

ती सबै कार्यक्रममा बैशाखमा हुने निर्वाचनमा पार्टीलाई थप शक्तिशाली बनाउने प्रतिबद्धता व्यक्त भएका छन् । लोकतन्त्रमा निर्वाचनमा जान कुनै शक्ति डराउँछ भने त्यसको जनमत छैन भन्ने बुझ्दा हुन्छ । प्रचण्ड र माधव नेपालहरुलाई जनताका बिचमा जान अफ्ठ्यारो छ किनकी उनीहरुले जनतालाई धोका दिएका छन् । पार्टीले पूर्वाधार विकासमा महत्वपूर्ण फड्को मार्ने काम गरिरहँदा प्रचण्ड र माधव नेपालहरुको एकमात्र एजेण्डा भने प्रधानमन्त्री र अध्यक्ष ओली हटाउ भन्नेमा थियो ।

अहिले प्रधानमन्त्री ओलीले सरकारका कामकारवाही सँगै पार्टीका कारकारवाहीलाई समेत सक्रियतापूर्वक अघि बढाउनुभएको छ । दैनिक करिव आधा दर्जन कार्यक्रमलाई भर्जुअलदेखि भौतिकरुपमै संवोधनमात्र गर्नुहुन्न, विकास निर्माणका गतिबिधिलाई समेत त्यत्तिकै अघि बढाइरहनुभएको छ ।

पार्टी कार्यकर्ता र आम जनताले ओली, प्रचण्ड र माधव नेपाललाई तुलना गरेका छन् । उनीहरुका क्षमता बुझेका छन् । प्रचण्ड र माधव नेपालले जतिगर्दा पनि किन उहाँहरुप्रति जन आकर्षण छैन, किनभने एजेण्डा छैन । प्रचण्डको सत्ताका लागि किन कोही नागरिक सडकमा जुलुसमा निस्कियोस् । माधव नेपाललाई पार्टी बुझाउन किन कोही कार्यकर्ता प्रदर्शनमा उत्रियोस् ।

एकतामा बल हुन्छ भन्ने भनाइ ठिकै हो । तर यहाँ त एकतामा निस्क्रियता र षड्यन्त्रमात्र देखियो । अहिले दुइवटा फल पाकेर कुहिएर झरेपछि नेकपारुपी बोट हराभरा देखिदैंछ । बाटो बिराएका अरुहरु पनि फर्कनुहुन्छ नै । किनकी सही र गलतको छनौट गर्न योग्य कार्यकर्ता र जनता हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !