काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले कम्युनिष्ट पार्टीभित्र देखिएका अवसरवादीहरु अबको निर्वाचनबाट बडारिने बताउनुभएको छ ।

आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले पार्टीमा राजनीतिक विषयमा संघर्ष नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बैचारिक लडाई केही छैन,सत्ता अंश बण्डामा झगडा भएको हो। को राष्ट्रपति बन्ने, को प्रधानमन्त्री, को अध्यक्ष र मन्त्री हुनेमात्र बहस भएको हो ।’

उहाँले अब निर्वाचन मार्फत् जनतामा गएर अवसरवादीलाई पाखा लगाइने दाबी गनुभयो ।

अहिलेको संसदले स्थायित्व दिन नसकेकाले संसद विघटन भएको थापाले बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नै कु गर्ने खेल भएपछि प्रतिनिधिसभा विघटन गरिएको उहाँले बताउनुभयो । अब चुनाव मार्फत् जनतासमक्ष गएर नै स्थायी सरकार गठन हुने थापाले दावी गर्नुभयो ।

नेता थापाले राजनीतिक अस्थिरता सिर्जना गर्न सकेको र दुई तिहाइको सरकार विघटन गर्न पाउँदा प्रतिगमनकारी खुसी भएको टिप्पणी गर्नुभयाे । ‘उनीहरु फेरि प्रतिगमन फर्काउन सकिन्छ र पूरानै व्यवस्था फर्काउन सकिन्छ भनेर सडकमा उत्साह मनाइरहेका छन्’, उहाँले भन्नुभयो । देशी विदेशी शक्तिहरू प्रतिगमन भित्र्याउन क्रियाशिल भएको उहाँको आरोप छ ।

प्रतिक्रिया दिनुहोस !