काठमाडौं । नेतृत्वलाई संघीन प्रकारका आरोपहरू लगाउँदै पार्टी विभाजनको निर्णयसम्म पुगेका प्रचण्ड–माधव समूह विभाजनको एक साता नपुग्दै विवादको भुमरीमा फसेको छ ।

पार्टी अध्यक्ष र प्रधानमन्त्री पद नपाएर नेकपालाई विभाजनको घडीमा पुर्याएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आ–आफूले पाउने पद सुरक्षित गरे पनि अन्य विषयमा भने विवाद शुरू भइसकेको छ ।

उक्त समूहले महासचिव चयनका लागि तीन वटा केन्द्रीय कमिटी र सचिवालयका विभिन्न बैठक गर्दा पनि टुंगो लगाउन सकेको छैन । समूहभित्र महासचिवका आकांक्षी धेरै भएका कारण टुंगोमा पुग्न नसकिएको बताइएको छ ।

यद्यपि पार्टी नेतृत्वका लागि माधव नेपाल र सरकारको नेतृत्वका लागि प्रचण्डले निःशर्त सम्झौता गरिसकेका छन् । समूहको एउटा भेलाले नेपाललाई अध्यक्षको टीका लगाएको छ भने विघटित संसदीय दलको नेतामा प्रचण्ड चुनिएका छन् । जसले उनलाई संसद ब्युतिएको खण्डमा प्रधानमन्त्री बन्ने बाटो क्लियर गरेको छ ।

तर महासचिव चयनका लागि बिहीबार बसेको केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गराउने गरी प्रक्रिया अघि बढाए पनि विवादपछि महासचिवको टुंगो लाग्न नसकेको हो ।

बिहीबार बिहान सिनामंगलमा बसेको नेताहरुको अनौपचारिक छलफलले माधव नेपालनिकट सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने सहमतिपछि पेरिसडाँडामा सचिवालय बैठक बसेको थियो । उक्त बैठकले पनि पाण्डेलाई नै महासचिव बनाउने प्रस्ताव स्थायी समितिमा पेश गरेको थियो ।

तर, स्थायी समितिमा भने त्यस विषयमा विवाद भएकाले टुंग्याउन नसकिएको एक नेताले बताए । स्थायी कमिटीमा रहेका नेताहरुबीचमै आकांक्षी बढी देखिएपछि निर्णयमा पुग्न सकेन । त्यसपछि स्थायी समितिको बैठकमा विवाद भएपछि केन्द्रीय कमिटी बैठकको महासचिव अनुमोदन गर्ने प्रस्ताव हटाइएको थियो ।

महासचिवको आकांक्षा राख्नेमध्येमा सुरेन्द्र पाण्डेसहित हरिबोल गजुरेल, वर्षमान पुन, घनश्याम भुसाल, जनार्दन शर्मा लगायत नेताहरु छन् । आकांक्षीमध्ये गजुरेल वरिष्ठ भएकाले उनलाई बनाउनुपर्ने मत बलियो छ । तर, माधवकुमार नेपाल पक्षकाहरु सुरेन्द्र पाण्डेबाहेक अरु हुँदै नहुने अडानमा छन् ।

आकांक्षी नेताहरु धेरै भएकाले अहिले उक्त समूह महासचिवको टुंगो नलगाई अघि बढेको छ । केपी ओलीविरुद्धको आन्दोलन कमजोर हुने भन्दै महासचिवको च्याप्टर क्लोज गरिएको समेत एक नेताले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !