चितवन । श्रीराम मन्दिर जयमंगलामा १४औं धनधान्याञ्चल ज्ञानयज्ञ तथा लिङ्ग महापुराण कथा वाचन कार्यक्रम सुरु भएको छ । रत्ननगर–१३, जयमंगलामा रहेको श्रीराम मन्दिर तथा वैदिक प्रज्ञा प्रतिष्ठान नेपालद्धारा सञ्चालित “श्रीराम वैदिक संस्कृत गुरुकुलम” मा आज (बिहीवार) देखि पौष १६ गते सम्म सञ्चालन हुने गरि १४औं धनधान्याञ्चल ज्ञानयज्ञ तथा लिङ्ग महापुराण कथा वाचन कार्यक्रम सुरु भएको हो । सो कार्यक्रममा ब्रह्मपण्डित कृष्ण सापकोटाले कथा वाचन गर्नेछन् ।

श्रीराम मन्दिर तथा वैदिक प्रज्ञा प्रतिष्ठान नेपालका अध्यक्ष भेषराज दुवाडीले पौष १५ गते पर्ने धान्यपुर्णीमाको अवसर पारेर हरेक वर्ष सो कार्यक्रमको आयोजना हुने गरेको बताए । उनले सो कार्यक्रममा वार्षीक मुठी दान, पीतृ भोजन, हर्ष बढाई भोजन लगाएतका कार्यगर्न भक्तजनको उपस्थिती हुने गरेको बताउदै यज्ञ शेषबाट बचेको पैसाबाट अधुरा निर्माण कार्यहरु पनि गरिने बताए ।

उनले हाल संस्थामा आजिवन सदस्यता लिने संख्या २ हजार पुग्न लागेको बताउदै सदस्यता लिनको लागि समेत सबैलाई आग्रह पनि गरे । दुवाडीले हाल श्रीराम वैदिक संस्कृत गुरुकुलममा षष्ठी देखि उत्तर मध्यमा सम्म ( ६ कक्षा देखि १२ कक्षा सम्म) कक्षा सञ्चालन हुने गरेको बताए । उनले हाल देशभरिबाट करिब ७० जना बिद्यार्थी सो गुरुकुलममा अध्ययनरत रहेको र ८ जना गुरुले अध्यायपन गराउने गरेको जानकारी दिदै नेपाल सरकारबाट वार्षीक ७ देखि ८ लाख सम्म रकम उपलब्ध हुने गरेकोमा सो रकम अभाव हुने गरेकाले सबैलाई तन, मन र धनले सहयोग गर्न आग्रह पनि गरे ।

उनले सो कार्यक्रमको उद्देश्य भनेको मुठीदान गर्ने बानी बसालौ, गुरुकुलीय पद्धतीलाई चलायमान बनाईराखौ भन्ने रहेको पनि बताए । आजको उद्घाटन कार्यक्रममा बिश्व हिन्दु महासंघका उपाध्यक्ष हरि बिलास खनाल प्रमुख अतिथि रहेका थिए ।

प्रतिक्रिया दिनुहोस !