काठमाडाैँ । नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले नेकपाको मुल नेतृत्वबाट पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालहरूको एउटा गुटमात्र बाहिरिएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकमा सम्बाेधन गर्दै बादलले प्रचण्ड नेपालहरू विदेशीको दलाल बनेको बताउनुभयो ।

उहाँले मुलुकलाई प्रतिक्रान्तिको खतराबाट जोगाउन केपी ओलीलाई साथ दिनुपरेको बताउनुभयो । गृहमन्त्री बादलले निकै सोच विचार गरेर आफूले मूल नेतृत्वलाई जोगाउन यस्तो निर्णय लिएको बताउनुभयो । बादलले प्रचण्ड–माधव नेपाल समूहले प्रतिक्रान्तिलाई सघाउने निर्णय गर्दै अघि बढेको दाबी गर्नुभयो ।

उहाले गुमेको भूमि फिर्ता लिन, प्रतिक्रान्तिको खतराबाट जोगाउनका लागि मूल नेतृत्व (केपी शर्मा ओली)लाई साथ दिनुपरेको खुलाउनु भयो । ‘कम्युनिष्ट पार्टी र आन्दोलनको एकताको पक्षमा आज म यहाँ उभिएको छु । म एकताको पक्षमा छु र एकताको निम्ती लडिरहने छु’, केन्द्रीय कमिटीमा उहाले भन्नुभयो, ‘स्थायीत्व, शान्ति र स्थिरताको पक्षमा जनताको बीचमा नयाँ जनादेश लिनका लागि नया मोर्चा, अभियानमा म अग्रपंक्तिमा उभिनेछु ।’

उहाले सडकमा जानका लागि केही शक्ति प्रेरित भईरहेको भन्दै उहाले गणतन्त्र र संघीयताका विरोधीलाई सहयोग हुने काम नगर्न आग्रह समेत गर्नुभयो । ‘संघीय लोकतान्त्रिक गणतन्त्र कसरी सिध्याउने भन्ने उनिहरुको लक्ष्य रहेको छ । उनिहरु खुलेआम गणतन्त्रलाई मासेर प्रतिक्रान्ति ल्याउने गरी गतिविधि गरिरहेका छन् । यहीनेर हाम्रा कमरेडहरुको बारेमा प्रश्न उठ्छ’, उहाले भन्नुभयो, ‘जसले आफुलाई गणतन्त्रवादी, संघीयतावादी भन्नुहुन्छ । कतै निरकुशंतन्त्र ल्याउने जालमा त फस्नु भएन । ठुलो आशंका अहिले कमरेडहरुका गतिविधिबाट उत्पन्न भएको छ ।’

गृहमन्त्री बादलले ति नेताहरुमाथी जवर आशंका पनि उत्पन्न भएको बताउनु भयो । ‘राष्ट्रिय स्वाधिनताका निम्ती पार्टी र नेतृत्वले जुन संघर्ष गरिरहेको छ । नेपालको नक्सा प्रकाशित गर्नेदेखी लिएर अतिक्रमित भूमिहरु फिर्ता लिने कुराहरु ल्याउन प्रयत्न र संघर्ष गरिरहेको छ । त्यहापनि हाम्रा केही ‘राष्ट्रवादी’ कमरेडहरुले चाँही प्रश्न उठाईरहनु भएको छ’, उहाको भनाई थियो ।

‘पार्टी र सरकार प्रमुखले हाम्रो भूमि मिच्नेको खुफिया एजेन्सीसँग किन भेट्छन्, उनिहरुसँग किन वार्ता गर्छन भनेर यो प्रश्न उठाउनुले नै आशंका पैदा गर्दछ । यो अस्थिरता कसले ल्याएको छ । सबै सूचनाहरु संकलन गरेर हेर्नु भो भने तिनै तत्वहरु हुन्, जसले हिजो संविधान बनाउन दिन चाहेका थिएनन् । तिनै तत्वहरु जसले हामीलाई नाकाबन्दी गरेका थिए । हाम्रा भूमिहरु कब्जा गरिरहेका छन् । तिनै तत्वहरुको जालमा हाम्रा कमरेडहरु फस्नु भएन । असान्दर्भीक रुपमा यो प्रश्नहरु उठेका छन्’, उहाले केन्द्रीय सदस्यलाई सम्बोधन गर्दै भन्नुभयो ।

उहाले हामीले जुन हाम्रो भूमिलाई फिर्ता ल्याउने कदम अगाडी बढाईरहेका छौं त्यसलाई हामीले साथ दिने कि आशंका पैदा गर्ने । त्यसमा विश्वास गर्ने कि त्यसमा विरोध गर्ने । यो प्रश्नको पनि हामीले जवाफ दिनुपर्ने भएको बताउनु भयो । नेता बादलले अग्रगामीलाई साथ दिने कि प्रतिक्रियाबादीहरुलाई साथ दिने भन्दै प्रश्न गर्नुभएको छ । ‘हामीले गुटलाई हावी हुन दिने वा पार्टीलाई हावी बनाउने यो प्रश्न पनि आएको छ । नया क्रान्ति गर्नुपर्ने आजको आवश्यकता भएको छ । प्रतिक्रान्तिलाई रोक्न हामीले नेतृत्व गर्ने कि नगर्ने । त्यो सहास हामीले गर्ने कि नगर्ने ? त्यसको जवाफ दिनुपर्ने छ’, उहाले भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस !